इ-पासपोर्ट : अनलाइनबाटै मिति र समय बुकिङ गरेर लिन सकिने

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १२३ पटक पढिएको

 

राहदानी विभागले विद्युतीय राहदानी (इ-पासपोर्ट) सार्वजनिक गरेको छ । शताब्दी पुरूष सत्यमोहन जोशीलाई पहिलो इ-पासपोर्ट दिँदै बुधबार एक कार्यक्रमका बीच परराष्ट्रमन्त्री नारायण खड्काले इ-पासपोर्ट सार्वजनिक गरेको हो । 

विभागका महानिर्देशक डोरनाथ अर्यालले कार्यक्रममा अब नेपालको राहदानी विश्वासयोग्य हुने बताएका छन् । यसलाई थप सुरक्षित गर्न राष्ट्रिय परिचयपत्रसँग पनि आवद्ध गरिएको उनले बताएका छन् । इ-पासपोर्ट व्यवस्थित हुने बताउँदै अब अनलाइनबाटै मिति र समय बुकिङ गरेर लिन सकिने उनको भनाई छ । उनका अनुसार विभागले घण्टामा कम्तीमा एक हजार विद्युतीय राहदानी उत्पादन गर्नेछ ।

आजबाट जारी भए पनि इ- पासपोर्ट मंसिर १५ गतेबाट पूर्णरुपमा सर्वसाधरणका लागि वितरण गरिने विभागले जनाएको छ । नेपालमा सन् २०१० को डिसेम्बर २६ देखि मेसिन रिडएबल पासपोर्ट (एमआरपी) लागू गरेको थियो । विभागका अनुसार व्यक्तिगत, कूटनीतिक अधिकारी, आधिकारिक, शान्ति मिसनमा जाने सुरक्षाकर्मी, ट्राभल डकुमेन्ट, अस्थायी पासपोर्ट र रेकर्ड बुक गरी सात प्रकारका विद्युतीय पासपोर्ट हुने छन् । नयाँ पासपोर्टमा बायोमेट्रिक सूचनाहरु सबै ‘चिप’मा बस्ने छन् । यसमा हातका औंला, आँखा र अनुहारलाई कैद गर्छ ।  

सरकारले तीन पटक टेन्डर आह्वानपछि दुई वर्ष अघि फ्रेन्च कम्पनी आईडिमियासँग नयाँ एनआरपी छाप्न सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार नेपालले ५० लाख इ–पासपोर्ट प्राप्त गर्छ । नेपालले एमआरपी लागू गरेको बेलामा कूटनीतिक, पदाधिकारी, साधारण र ट्राभलतर्फ गरी जम्मा ७० लाख एमआरपी छापेको थियो ।

विभागले हाल कूटनीतिक राहदानी रातो रङमा, विशेषलाई आकाशे नीलो र साधारणलाई हरियो रङमा जारी गर्दै आएको छ। अब भने कूटनीतिक राहदानी सिम्रिक रातो, विशेष राहदानी आकाशे नीलो, सर्भिस राहदानी सुन्तले, साधारण राहदानी चकलेटी खैरो र यात्रा अनुमति पत्र कालो, सिम्यान्स अभिलेख किताब स्लेट खैरो, अस्थायी राहदानी चकलेटी खैरो हुने राहदानी नियमावली २०७७ मा उल्लेख छ । 

विश्वका विकसित मुलुकहरुले लागू गरिसकेको इ–पासपोर्ट नेपाललेको लागि भने नयाँ हो । अहिले संसारका १२० मुलुकले इ-पासपोर्ट जारी गरिसकेका छन् ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित