युरोप र एसियामा फैलियो बर्ड फ्लू/ सतर्कता अपनाउन आग्रह
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ११३ पटक पढिएको
युरोप र एसियामा गम्भीर प्रकृतिको बर्ड फ्लू देखा परेसँगै सोमबार दक्षिण कोरियाको चुङचेओङबुक डुस्थित एक कुखुरा फार्मको ७ लाख ७० हजार कुखुरा मारिएको छ । त्यस्तै उत्तरपूर्वी जापानको एक फार्ममा पहिलो पटक एच५एन८ नामक बर्ड फ्लूको उप-प्रजाति देखा परेको छ भने नर्बेको रोगाल्याण्ड क्षेत्रमा पनि ७ हजार चराचुरुङ्गीमा एच५एन१ बर्ड फ्लू देखा परेको ओआईईले जनाएको छ ।
प्राणी स्वास्थ्यसम्बन्धी विश्व संगठन (ओआईई) समक्ष पेश गरिएको पछिल्लो रिपोर्ट अनुसार युरोप र एसियामा बर्ड फ्लू फैलिन थालेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । ओआईईसमक्ष पेश गरिएको पछिल्लो प्रतिवेदनबाट बर्ड फ्लू भाइरस तीव्र रुपले पुन: फैलिन थालेको छ ।
बर्ड फ्लू मानिसमा समेत सर्न सक्ने भएकाले रोग विशेषज्ञहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस वर्ष मात्रै चीनमा बर्ड फ्लूको उप-प्रजाति एच५एन६बाट २१ जना संक्रमित भइसकेका छन् । तर यदि मानिसहरूले संक्रमित चरा वा कुखुरा छोएमा वा खाना पकाउनको लागि प्रयोग गर्दा एकदमै दुर्लभ अवस्थामा मात्र असर गर्न सक्ने चिकित्सकहरुले तर्क गर्दै आएका छन् ।
यसअघि अक्टोबर महिनामा फ्रान्स र नेदरल्याण्डका कुखुरा फार्ममा समेत सतर्कता अपनाइएको थियो । विशेषगरी शरद ऋतुमा बसाइँसराइँ गरेर आउने चराबाट बर्ड फ्लू सर्ने गरेको पाइन्छ । एन्टवर्प क्षेत्रमा पनि एक जंगली हाँसमा निकै संक्रामक बर्ड फ्लू देखा परेपछि बेल्जियम सरकार सतर्क बनेको र कुखुरालाई भित्रै राख्न आदेश दिएको छ ।
तस्बिर: रोयटर्स