समुद्रमा सीधा पहुँच स्थापित गर्दै इन्टरनेट खरिद गर्ने प्राधिकरणको तयारी

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १०९ पटक पढिएको

 

दूरसञ्चार प्राधिकरणले समुद्रसम्म सीधा पहुँच स्थापित गरेर इन्टरनेट खरिद गर्ने व्यवस्था गरेको छ । प्राधिकरणले  समुद्रसम्म अप्टिकल फाइबर जडान गर्न सके नेपालका लागि थुप्रै अन्य विकल्प खुला हुने जनाउँदै प्राधिकरणले हालै एक अध्ययन सम्पन्न गरेको जनाएको हो । 

नेपालमा हालसम्म छिमेकी भारत र चीनबाट इन्टरनेट खरिद हुँदै आएको छ । पछिल्लो अध्ययनले समुद्रसँग  पहुँच स्थापित हुनुपर्छ भन्ने मान्यता अनुरूप ‘केबल ल्यान्डिङ’ स्टेसनहरू स्थापना गरेर अप्टिकल फाइबरको सञ्जाल व्यवस्थित गर्न सुझाव दिइएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिएका छन् । उनले  छिमेकी राष्ट्रका कुनै प्रदायकसँग ‘डार्क कोर’ फाइबर भाडामा लिएर पनि अघि बढ्न सकिने बीबीसीलाई जनाएको छ । 

हालसम्म नेपालले भारत र चीनसँग इन्टरनेट सेवा प्रदायकहरूबाट ब्यान्डविथ मात्रै खरिद गर्ने गरेको छ । तर अब चाहिँ डार्क कोर फाइवर नै भाडामा लिने उनको भनाई छ । 

अप्टिकल फाइबरको नयाँ मार्ग निर्माण हुन सके इन्टरनेटमा नेपालको भारत र चीनसँगको निर्भरता कम गर्न सकिने अधिकारीहरू बताउँछन्।

अधिकारीहरूका अनुसार आफ्नै इन्टरनेट मार्ग स्थापना हुनुको ठूलो फाइदा भनेको सुरक्षात्मक दृष्टिकोणबाट इन्टरनेट सशक्त हुनु हो। आफ्नै अप्टिकल फाइबर नेटवर्कबाट आयात गर्ने सम्भाव्यताले इन्टरनेट शुल्क घट्न सक्ने विषयलाई लिएर पनि कुरा हुन थालेको छ । तर अहिले नै मूल्यमा पर्न सक्ने प्रभावको आकलन भने भई नसकेको अधिकारीहरू बताउँछन् ।

समुद्रसम्म पहुँच स्थापित गर्नका लागि भारत सँगै चीन र बङ्गलादेशको बाटोबारे पनि अध्ययनले परिकल्पना गरेको अधिकारीहरूले बताएका छन् । बङ्गलादेशसँग ऊर्जा व्यापारका लागि प्रसारण लाइन बन्ने भएकाले त्यहीँ पूर्वाधारको प्रयोग गरेर काम अघि बढाउन सकिने आधार रहेको प्राधिकरणले जनाएको छ । हाल प्राधिकरण यी कार्य गर्नका लागि कसलाई अनुमति दिने र अनुमतिको कस्तो ढाँचा तयार गर्ने भन्ने विषयमा केन्द्रित रहेको बताइएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित