नयाँ दिल्लीमा वायु प्रदूषण : एक हप्ताको लागि सम्पूर्ण भौतिक कार्य बन्द

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ३०४ पटक पढिएको

भारतको राजधानी नयाँ दिल्लीमा एक हप्ताको लागि सम्पूर्ण भौतिक कार्य बन्द गरिएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले प्रदूषणको समस्या समाधान गर्न एक हप्ताका लागि विद्यालय र निर्माण गतिविधिमा रोक लगाउँदै सरकारी कर्मचारीले घरबाटै काम गर्ने घोषणा गरेका हुन् । 

उनले प्रदूषणको उच्च स्तरलाई ध्यानमा राख्दै सोमबारदेखि एक साताका लागि विद्यालय बन्द गर्ने, सरकारी कार्यालयका हकमा ‘वर्क फ्रम होम’ लागू गरिने र निजी कार्यालयका लागि विशेष व्यवस्था गरिने बताएका छन् ।  निर्माण कार्य भने हिजो देखि नै बन्द गरिसकेको छ । 

मुख्यमन्त्री केजरीवालले छिमेकी राज्यहरूमा पराल जलाउँदा प्रदूषणको स्तर बढेको र समाधानका लागि सरोकारवालाहरू सबैलाई मिलेर काम गर्न आह्वान गर्दै भने, ‘हाम्रा बालबालिकालाई घरबाट बाहिर निस्कन र प्रदूषित हावामा सास फेर्न नपरोस् भनेर हामीले सोमबारदेखि एक साता विद्यालय बन्द गर्दैछौँ’ ।’

भारतीय सर्वोच्च अदालतले शनिबार केन्द्र सरकार र दिल्ली सरकारलाई वायुको गुणस्तर सुधार गर्न सवारीसाधनमाथि प्रतिबन्ध लगाउने र लक डाउन गर्ने जस्ता कदम तत्काल चाल्न सुझाव दिएको थियो ।

दिल्लीको वायु गुणस्तर सूचकांक शनिबार ४७३ रहेको थियो। छिमेकी गाजियाबाद,गुरुग्राम, नोएडा, फरीदाबाद, ग्रेटर नोएडाको वायु गुणस्तर सूचकांक क्रमशः ४४१, ४४१, ४२३, ४६४ र ४०८ रहेको थियो । आइतबार भने वायुको गुणस्तरमा अघिल्लो दिनको तुलनामा केही सुधार भएको बताइएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित