पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्द संयुक्त विद्यार्थीको आन्दोलन
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ११० पटक पढिएको

सरकारले पेट्रोलियम पदार्थमा बढाएको मूल्यवृद्धिको खारेजको माग गर्दै विभिन्न दलनिकट विद्यार्थीहरूले काठमाण्डूमा प्रदर्शन गरेका छन् । आइतबार प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका पार्टी निकट विद्यार्थी संगठनले प्रदर्शन गरेका हुन् ।
संयुक्त विद्यार्थी आन्दोलनले सिलिन्डरमा विभिन्न पर्चा टाँसेका थिए । पर्चामा ‘मलाई किन यति अमूल्य बनायौ ?, गरिब जनताको घरमा म कसरी बल्ने ?, मलाई बल्न देऊ’, लेखिएको थियो । उनीहरुले पेट्रोलियम पदार्थमा मुल्यवृद्धि फिर्ता लिनुपर्ने, आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई बर्खास्त गर्नुपर्ने लगायतका माग राखेका छन् ।
सरकारले केही समयअघि खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएपछि निरन्तर आन्दोलन जारी छ । नेपाल आयल निगमले हालै खाना पकाउने ग्यास, पेट्रोल र डिजेलमा मूल्यवृद्धि गरेपछि विद्यार्थीहरुले आन्दोलन गर्दै आएका छन् ।
निगमले गत बिहिबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३/३ रुपैयाँ, हवाई इन्धनमा १० रुपैयाँ र खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रतिसिलिन्डर ७५ रुपैयाँ वृद्दि गरेको थियो । नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलको मूल्य १३३, डिजेल र मट्टीतेलको ११९/११९ रुपैयाँ रहेको छ भने त्यस्तै ग्यासको नयाँ खुद्रा बिक्री मूल्य १५ सय ७५ रुपैयाँ छ ।
अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको हुँदा आगामी दिनमा प्राप्त हुने मुल्य सूची थप वृद्दि भएर आउने देखिएकोले घाटा कम गर्न अझै मुल्य वृद्दि गर्नुपर्ने बाध्यता रहेको निगमले जनाउँदै आएको छ ।