कोइला सम्बन्धी पहिलो जलवायु सहमति

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २४६ पटक पढिएको

 

ग्लास्गोमा आयोजित कोप २६ विश्व सम्मेलनमा हरित गृह ग्यासहरूका उत्सर्जनमा सबैभन्दा नराम्रो इन्धन स्रोत मानिने कोइलाको प्रयोग कम गर्ने विषयमा सहमति भएको छ । विस्तृत योजना भएको उक्त सम्झौता कोइला सम्बन्धी पहिलो जलवायु सहमति हो ।

सम्झौतामा उत्सर्जन तीव्र गतिमा कम गर्ने र विकासशील देशहरूलाई जलवायु परिवर्तनको असर कम गर्न थप सहयोग गर्ने विषय पनि उल्लेख गरेको बीबीसीले जनाएको छ। तर यो सहमति पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सिअसमा सीमित राख्नका लागि यथेष्ट छैन । 

सहमति अनुसार राष्ट्रहरूले आगामी वर्ष १.५ डिग्रीको लक्ष्य प्राप्तिका लागि आवश्यक थप कार्यबारे छलफल गर्ने छन् । अहिलेको प्रतिबद्धता पूरा भएको खण्डमा पनि विश्व तापक्रम २.४ डिग्री सेल्सिअसको वृद्धिमा मात्रै सीमित हुन्छ ।

वैज्ञानिकहरूका अनुसार पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सिअसभन्दा बढी वृद्धि भएमा दशौँ लाख मानिसहरू चरम गर्मीमा हुनेछन् । कोइला  पृथ्वीको ४० प्रतिशत कार्बन उत्सर्जनका लागि जिम्मेवार छ।

बीबीसीका अनुसार सहमतिको सुरुका मस्यौदामा उल्लेख गरिएको कोइलालाई चरणबद्ध रूपमा विस्थापित गर्ने विषय भारतको विरोधका कारण नाटकीय रूपमा परिवर्तन भएको थियो । भारतका जलवायु मन्त्री भूपेन्द्र यादवले विकासशील राष्ट्रहरूले "आफ्नो विकास र गरिबी निवारणका विषय" हुँदाहुँदै कसरी कोइलालाई विस्थापित गर्ने र इन्धनमा अनुदान दिने प्रतिबद्धता व्यक्त गर्न सक्छन् भनेर प्रश्न गरेका थिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित