इक्वेडरको कारागारभित्र झडप हुँदा ६८ जना कैदीको मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १०४ पटक पढिएको

 

इक्वेडरको एक कारागारभित्र झडप हुँदा कम्तीमा ६८ जना कैदीको मृत्यु भएको छ । शुक्रवार साँझ भएको सो घटनामा कारागारभित्र प्रवेश गरेको प्रहरीले बन्दुक, विस्फोटक पदार्थ र धारिला हतियारहरू फेला पारेको बताईएको छ । 

बीबीसीका अनुसार हालैका दिनहरूमा सो कारागारभित्र ससाना झैझगडा भएको र तीन कैदीको गोली हानी हत्या गरिएको थियो । शुक्रबार शुरु भएको झडप शनिवार पनि कायम रहेपछि कारागार बाहिर सैनिक परिचालन गरेर सुरक्षित गरिएको बताइएको छ ।

अधिकारीहरूका अनुसार एक समूहका नाइके रिहा भए पछि उत्पन्न क्षेत्रसम्बन्धी विवादका कारण झगडा सुरु भएको थियो । कारागार रहेका प्रान्तका गभर्नर पाब्लो अरोसेमेनाले भने, "कारागारको एउटा क्षेत्र नाइकेविहीन बनेपछि अन्य समूहहरूले प्रवेश गरेर आमहत्या गरेका छन् । " 

लिटोरल पेनीटेन्टीयरीभित्र गएको सेप्टेम्बरमा पनि झगडा हुँदा १०० भन्दा बढी कैदीको मृत्यु भएको थियो । सेप्टेम्बरमा भएको दुई समूहबीचको घटना भने त्यहाँको इतिहासमै सबैभन्दा हिंसक मानिन्छ । त्यस बेला कारागारको एउटा क्षेत्रमा रहेका कैदीहरू सुरुङबाट अर्को क्षेत्रमा प्रवेश गरी विरोधी समूहका कैदीमाथि आक्रमण गरेका थिए । 

यो वर्ष मात्रै इक्वेडरका कारागारहरूभित्र भएका झगडामा झन्डै ३०० कैदीको मृत्यु भइसकेको छ । इक्वेडरका कारागारहरूका क्षमताभन्दा ९,००० बढी कैदीहरू रहेका अधिकारीहरू बताउँछन् । हिंसा भएको कारागारको क्षमता ५,३०० भए पनि त्यहाँ ८,५०० कैदी रहेको बताइएको छ ।

 

तस्बिर: गेटी इमेज 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित