वायु प्रदुषणको मात्रा बढेपछि नयाँ दिल्लीमा दुई दिन लकडाउन
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १४२ पटक पढिएको

वायु प्रदुषणको मात्रा बढेपछि भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीमा दुई दिन लकडाउन गर्न सुझाव दिएको छ । प्रधानन्यायाधिशहरु एन भी रमण, न्यायाधिशहरु डि वाई चन्द्रचुडा र सुर्यकान्तको इजलाशले हावाको गुणस्तर मापक सूचकांकलाई ५०० बाट कम्तीमा २०० मा झार्नु पर्ने बताउँदै दुई दिने लकडाउन उपयुक्त हुनसक्ने सुझाव दिएका छन् ।
अदालतले प्रदुषण चरम भएकाले अहिले बालबालिकाहरुलाई घरबाहिर निस्कन दिनु वा विद्यालय आवत जावत गराउन पनि पुनर्विचार गर्नुपर्ने तर्क राखेको छ । विज्ञ तथा सरोकारवालाहरूले पनि प्रदूषणबाट बालबालिकाहरूलाई दीर्घकालीन असर पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
वायु प्रदूषणको असर बालबालिकाहरूमा अहिलेभन्दा पछि बढी देखिने चिकित्सकहरुको भनाई छ । विशेष गरेर बालबालिकामा श्वासप्रश्वाससँगै मानसिक समस्या पनि देखिन सक्ने बताईएको छ । आँखा पिरो हुने र घाँटी चिलाउने असर तत्काल नै देखिएको र त्यस्ता बिरामीहरूको संख्या अत्यधिक धेरै रहेको भारतको स्थानीय संचार माध्यम एएनआईले जनाएको छ ।
अदालतले लकडाउनलाई तात्कालिन उपायको रुपमा मात्रै लिन आग्रह गर्दै दिर्घकालिन रुपमा समस्याको समाधान गर्ने उपाय भने अरु नै अपनाउनु पर्ने जनाएको छ । दिल्लीमा दीपावलीका पटाकाहरूका कारण अघिल्लो शुक्रवारदेखि वायु प्रदूषण फेरि खतरनाकपूर्ण अवस्थामा पुगेको हो ।
करिब २ करोड जनसंख्या भएको नयाँ दिल्लीमा गएको शुक्रबार पीएम २.५ रिडिङको औसत ७०६ माइक्रोग्राम मापन गरेको थियो । विश्व स्वास्थ्य संगठनले वार्षिक औसत पाँच माइक्रोग्रामभन्दा माथिको कुनै पनि कुरालाई असुरक्षित ठानेको छ ।
हिउँदमा छिमेकी राज्यहरूमा जलाइएका परालहरूका धुवाँका कारण पनि दिल्लीको वायु विषाक्त बन्ने गरेको छ । सरकारी वायु गुणस्तर मापन अधिकारीहरूले त्यहाँको प्रदूषित हावाको ३५ प्रतिशत जलाइएका परालहरूका कारण भएको र यो क्रम बढ्दै जाने अनुमान गरेका छन् ।
भारतमा वायु प्रदूषणका कारण बर्सेनि १० लाख मानिसको मृत्यु हुने विभिन्न तथ्याङ्कहरुले देखाएका छन् । संसारका सबैभन्दा धेरै प्रदूषित ३० सहरमध्ये २२ वटा सहर भारतमै रहेका छन् ।
तस्बिर : रोयटर्स