पेरुका राष्ट्रपति कास्टिलोले गरे आफ्नो सरकारी हवाईजहाज बेच्ने घोषणा
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २७४ पटक पढिएको

पेरुका राष्ट्रपति पेड्रो कास्टिलो टेरोनेसले आफ्नो सरकारी हवाईजहाज बेच्ने घोषणा गरेका छन् । आफु निर्वाचित भएको १०० दिनको अवसरमा बुधबार सम्बोधन गर्दै उनले राष्ट्रपतिको हवाईजहाज बेचेर प्राप्त गरेको रकम स्वास्थ्य र शिक्षामा खर्च गर्ने बताएका हुन् ।
पेरुको स्वास्थ्य सेवा कोरोना भाइरस महामारीका कारण कठिन अवस्थामा सङ्घर्ष गरिरहेको छ । यस वर्षको सुरुवातमा त्यहाँ कोरोना भाइरसबाट ज्यान गुमाउने दर उच्च रहेको थियो । महामारीका कारण स्वास्थ्य सेवा र शिक्षामा एकदमै नराम्रो असर परेकाले हवाईजहाज बेचे पश्चात प्राप्त गरेको रकम स्वास्थ्य र शिक्षामा प्रयोग गरिने उनको भनाई छ ।
सम्बोधनको क्रममा उनले सरकारी अधिकारीहरूलाई प्रथम श्रेणीको उडानमा प्रतिबन्ध लगाउने पनि बताएका छन् । गएको जुनमा राष्ट्रपति कास्टिलो झिनो अन्तरले निर्वाचित भएका थिए ।
वायुसेनाद्वारा सञ्चालित ७० यात्रु क्षमता भएको राष्ट्रपति चढ्ने विमान बोइङ ७३७-५२८ हो ।
सन् २००७ मा सोहि विमान पूर्व राष्ट्रपति एलन गार्सियाले पनि बेच्ने कोसिस गरेका थिए । उनले यसलाई दुई पटक लिलामी गर्ने प्रयास गरे तर पनि असफल भए । उनले बोलेको सार्वजनिक लिलामीमा कुनै बोलपत्रदाता थिएनन् । उनले पनि जनस्वास्थ्यका लागि पैसा प्रयोग गर्ने वाचा गर्दै १८.५ मिलियन डलर माग गरेका थिए ।
उक्त विमान सन् १९९५ को दशकमा पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरी (१९९०-२०००) को सरकारको समयमा २७.६ मिलियन डलरमा खरिद गरिएको थियो । यो विमानलाई प्राकृतिक प्रकोपको समयमा जनतालाई राहत दिनको लागि पनि प्रयोग गरिएको थियो ।
पटक पटकको असफल प्रयास पछि त्यहाँको रक्षा मन्त्रालयले सन् २००८ अब उक्त विमान बेच्ने प्रयास नगर्ने घोषणा पनि गरेको थियो ।
राष्ट्रपतिको विमान बेच्न असफल भएको राष्ट्र पेरु मात्र होइन । मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले पनि आफ्नो सरकारी विमान बेच्न असफल भएका थिए । त्यस्तै अर्जेन्टिनामा पनि पूर्व राष्ट्रपति कार्लोस मेनेमको नेतृत्वमा खरिद गरिएको बोइङ ७५७ बेच्ने प्रयास पनि असफल भएको थियो ।
तस्बिर: एएफपी