सर्वोच्चमा धर्ना : वैकल्पिक बाटोबाट भित्रिए प्रधानन्यायाधीश जबरा
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ३८० पटक पढिएको

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनको आह्वानमा कानुन व्यवसायीहरुले शुक्रबार पनि सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएका छन् । अब आइतबार पनि प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक्ने गरी फेरी सर्वोच्च अदालतमा धर्ना दिने बारले जनाएको छ ।
प्रधानन्यायाधीशको राजिनामा माग गर्दै केहि दिन देखि सर्वोच्च परिसर तनावग्रस्त बनेको छ । सर्वोच्च प्रवेशमा रोक्ने गरी धर्ना दिए पनि प्रधानन्यायाधीश जबरा भने वैकल्पिक गेटबाट अदालत प्रवेश गरेका थिए । बिहान ११ बज्नै लाग्दा मूल गेटको साटो एक नम्बर गेटबाट उनि सर्वोच्च प्रवेश गरेका थिए । त्यस्तै अरु न्यायाधीशहरु पनि वैकल्पिक गेट प्रयोग गरेर सर्वोच्च अदालतमा पुगेका थिए ।
धर्नापछि विरोध सभालाई सम्बोधन गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरु सडकमा जान नचाहेको, तर सर्वोच्च प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर गेट बन्द गरेका कारण सडकमा धर्ना दिनुपरेको बताएका छन् ।
सर्वोच्च परिसरमा विरोध प्रदर्शनका क्रममा हिजो पनि ‘प्रधानन्यायाधीश राजीनामा दे’ भन्दै ठूलो संख्यामा कानुन व्यवसायीहरु चर्का नाराबाजी गरेका थिए । प्रहरीसँगको धक्कामुक्कीमा बारका उपाध्यक्ष रक्षा बस्याल, महासचिव लीलामणि पौडेललगायत ६ जना अधिवक्ता घाइते भएका थिए ।
प्रहरी हस्तक्षेपको विरोधमा बारले शुक्रबार सर्वोच्च अदालतमा सम्पूर्ण इजलास बहिष्कार गर्ने निर्णय गरेको थियो ।