युरोपमा कोभिड : जर्मनीमा एकै दिन ५० हजार भन्दा बढी संक्रमित
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २६५ पटक पढिएको

जर्मनीमा महामारी सुरु भए यताकै उच्च कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ५० हजारभन्दा बढीमा संक्रमण देखिएको हो । रोबर्ट कोच इन्स्टिच्युट अफ हेल्थ सर्भिलेन्सका अनुसार २४ घण्टामा ५० हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २३५ जनाको मृत्यु भएको छ ।
युरोपेली देशहरुमध्ये जर्मनीमा अहिले कोरोना भाइरस संक्रमण अधिक मात्रामा बढिरहेको छ । अस्पतालमा पनि बिरामी भर्नाको संख्या बढिरहेको देखिन्छ । धेरै अस्पतालहरुले आईसियुमा नयाँ बिरामी भर्ना लिन नसक्ने बताइरहेका छन् । बुधबार जर्मनीकी चान्सलर एन्जेला मोर्केलले अहिलेको बढ्दो संक्रमणलाई नाटकीय रुपमा बढिरहेको बताएकी छिन् ।
कोरोनाको खोप कम लगाइएको स्थानमा धेरै संक्रमण फैलिएको बताइएको छ । जर्मनमा जनसंख्याको ६७ प्रतिशतले मात्र खोप लगाएका छन् । हालसम्म जर्मनीमा ४९ लाख जना कोरोना संक्रमित भइसकेका छन् ।
युरोपमा संक्रमण दर बढ्न थालेसँगै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले केहि दिन अघि मात्र गम्भीर चेतावनी दिएको थियो ।
गत कत्तिक १८ गते एक पत्रकार सम्मेलनमार्फत् डब्लूएचओको युरोप कार्यालयका प्रमुख हान्स क्लुजेले युरोपमा पुन: कोभिड-१९ फैलिन थालेको भन्दै फेब्रुअरीसम्म थप ५ लाख मानिसको मृत्यु हुने बताएका थिए । युरोपेली मुलुकमा जारी संक्रमणको गति गम्भीर चिन्ताको विषय भएको उनको भनाइ थियो ।