देशभर १२औँ राष्ट्रिय जनगणना सुरु, कालापानी र लिम्पियाधुरामा नहुने
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १५० पटक पढिएको
आजदेखि देशभर १२औँ राष्ट्रिय जनगणना सुरु भएको छ । केन्द्रीय तथ्यांक विभागले यसका लागि देशभर ४० हजार गणक खटाएको छ । उनीहरू देशभर छरिएर १५ दिनभित्र तथ्यांक संकलन गर्नेछन् ।
नेपालको नयाँ नक्सामा नेपालको भूमि कालापानी र लिम्पियाधुरा समेटिए पनि उक्त क्षेत्रमा जनगणना नहुने भएको छ । भारतीय पक्षसँग स्वीकृति लिनुपर्ने भएकोले ती क्षेत्रमा हाललाई जनगणना नगरिने तथ्यांक विभागले जनाएको छ ।
जनगणनाको सुरुवात राष्ट्रपतिबाट हुनेछ । त्यसपछि तालिकाअनुसार जनगणना गरिने केन्द्रीय तथ्यांक विभागले जनाएको छ । विभागका अनुसार आज देखि गणकहरूले घरघरमा पुगेर जनगणना सुरु गर्ने छन् । जसका लागि ८ हजार ५ सय जना सुपरीवेक्षक खटाइएको छ ।
यसअघि तथ्यांक विभागले असोज २६ गतेदेखि कात्तिक १४ गतेसम्म घरपरिवार सूचीकरण कार्यक्रम सञ्चालन गरेको थियो। उक्त सूचीकरण कार्यपछि गणकलाई तालिम दिएर जनगणना गर्न थालिएको हो । जनगणनाको क्रममा एउटा परिवारलाई करिब ८० वटा प्रश्न गरिनेछ । गणकले एक घरमा औसत २० देखि २५ मिनेट लगाउनेछन् ।
घरघरमा पुगेका गणकले घरधनी वा परिवारका सदस्यहरुले दिएको जानकारीका आधारमा पश्नावली भर्नेछन् । उक्त मुख्य प्रश्नावलीमा समावेश ८० वटा प्रश्नमध्ये सबै प्रश्नको उत्तर अनिवार्य नभए पनि मुख्य विषयका प्रश्न अनिवार्य भर्नुपर्नेछ। घरघरमा पुगेका गणकलाई सत्य र सही विवरण उपलब्ध गराउन तथ्यांक विभागले अनुरोध गरेको छ।
जनगणनाको क्रममा धेरैथरी प्रश्नहरू सोधिनेछ। शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक पूर्वाधार, बैंक खाता, ऋण लिएको–नलिएको, रोजगार, बेरोजगार, परिवार सदस्य संख्या, महिला, पुरुष, अपांग, तेस्रो लिंगी लगायत विवरण फारममा भरिनेछ। कतिपय तथ्यांक वडा कार्यालयबाट संकलन गरिनेछ ।