फेरी बढ्यो इन्धनको मूल्य, एलपी ग्यासको मूल्यमा ७५ रुपैयाँ वृद्दि
- वर्ल्ड दैनिक
- २ साल अघि
- १८६ पटक पढिएको
नेपाल आयल निगमले फेरी सबै प्रकारका इन्धनको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३/३ रुपैयाँ वृद्धि गरेको छ। त्यस्तै हवाई इन्धनमा १० रुपैयाँ र खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रतिसिलिन्डर ७५ रुपैयाँ वृद्दि गरेको छ ।
अब नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलको मूल्य १३३, डिजेल र मट्टीतेलको ११९/११९ रुपैयाँ पुगेको छ । त्यस्तै ग्यासको नयाँ खुद्रा बिक्री मूल्य १५ सय ७५ रुपैयाँ तोकेको छ । आन्तरिक उडानतर्फको हवाई इन्धनमा भने प्रतिलिटर ५ रुपैयाँ बढाएर १०१ रुपैयाँ पुर्याइएको छ । अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य अब प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ ।
यस मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर रू. १७.५८, डिजेलमा रू. १३.१४ र ग्यासमा प्रति सिलिन्डर रू. ६५७.८४ घाटा रहेको निगमले जनाएको छ । जसपश्चात १५ दिनमा निगमलाई २ अर्ब ६२ करोड घाटा हुने निगमको प्रक्षेपण छ ।
अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको हुँदा आगामी दिनमा प्राप्त हुने मुल्य सूची थप वृद्दि भएर आउने देखिएको बताउँदै घाटा कम गर्न अझै मुल्य वृद्दि गर्नुपर्ने बाध्यता रहेको निगमले जनाएको छ ।
भारतीय आयल निगमले अक्टोबर १६ मा पठाएको मूल्यसूचीअनुसार १५ दिनमा २ अर्ब २२ करोड घाटा देखिएपछि निगमले गत कात्तिक १२ गते पनि इन्धनको मूल्य बढाएको थियो ।