लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना नहुने

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३३९ पटक पढिएको

 

नेपालको नयाँ नक्सामा लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिए पनि उक्त क्षेत्रमा जनगणना नहुने भएको छ । भारतीय पक्षसँग स्वीकृति लिनुपर्ने भएकोले ती क्षेत्रमा हाललाई जनगणना नगरिने तथ्यांक विभागले जनाएको छ । 

जस कारणले सरकारले ती क्षेत्रमा जनगणना गर्ने तयारी पनि गरेको छैन । 

केन्द्रीय तथ्याङ्क विभागले सो क्षेत्रमा घरपरिवार सूचीकरणको काम हुन नसकेकाले जनगणना नहुने बताएको छ । भदौ ३० देखि असोज १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरण गर्ने विभागको कार्यतालिका थियो । तर सो अवधिभित्र लिपुलेक, कालापानी र लिम्पियाधुराका घर तथा घरपरिवार सूचीकरण गर्न सकिएको थिएन ।

गत भदौदेखि शुरू भएको १२ औँ  राष्ट्रिय जनगणनामा नेपालको संशोधित नक्शा अनुसारका सबै भूभाग समेटिने सम्भावना घरपरिवार सूचीकरणको काम नभए सँगै अनिश्चित भएको थियो । दार्चुला जिल्ला प्रशासन कार्यालयले संशोधित नक्शाअनुसार के कति भूभाग र घरपरिवार थपिएका छन् भन्नेबारे नेपाललाई यकिन जानकारी नभएको बताईएको थियो ।

गत वर्ष केपी शर्मा ओली नेतृत्वको सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेक भएको नेपालको आधिकारिक संशोधित नक्शा जारी गरेको थियो। भारतीय पक्षले भने नेपालद्वारा जारी नयाँ आधिकारिक नक्शालाई अस्वीकार गर्दै आएको छ ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित