चितवनमा पहिलोपटक निजी हात्ती दर्ता प्रक्रिया सुरु

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ३६० पटक पढिएको

 

चितवनमा पहिलोपटक निजी हात्ती दर्ता प्रक्रिया सुरु भएको छ । सङ्कटापन्न वन्यजन्तु र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रणसम्बन्धी ऐन जारी भए सँगै हात्ती धनीलाई सर्वोच्च अदालतले दर्ता गर्न निर्देशन दिएपछि सो प्रक्रिया सुरु भएको हो । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सम्बन्धित क्षेत्रका राष्ट्रिय निकुञ्जमार्फत दर्ता प्रक्रिया अघि बढाइएको जनाएको छ । विभागका अनुसार निजी हात्ती धनीमार्फत फाराम भराएर सङ्कलन कार्य भइरहेको छ । व्यवसायीले गत असोज १४ गते सर्वाेच्चको पत्र बुझेसँगै दर्ता प्रक्रिया सुरु गरेका हुन् । सोहीपश्चात सर्वाेच्चको आदेशलाई आधार मानेर विभागले दर्ता प्रक्रिया अघि बढाएको हो ।

सर्वोच्चले गत भदौ ३० मा अन्तरिम आदेश दिँदै हात्तीको अन्तरदेशीय तस्करी, बिक्री, हस्तान्तरण तत्काल रोक्न भनेको थियो । दर्ता अभिलेखीकरण नभएका हात्ती आदेशको मितिले एक महिनाभित्र दर्ता गर्न र दर्ता नभए जफत गर्न सर्वोच्चले निर्देशन दिएको छ  । 

नेपालले विसं २०७३ मा सङ्कटापन्न वन्यजन्तु र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रणसम्बन्धी ऐन जारी गरेको थियो । उक्त ऐन कार्यान्वयनका लागि विसं २०७६ को मङ्सिरमा नियमावली बने पनि कोभिडको कारणले रोकिएको थियो । 

निकुञ्जमा हात्ती सफारीका लागि प्रख्यात भएकाले वरपर रहेका सामुदायिक वनमा हात्तीको सङ्ख्या धेरै रहेको जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित