बङ्गलादेशका पूर्व प्रधानन्यायाधीश सिन्हालाई ११ वर्षको जेल सजाय
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ११५ पटक पढिएको

बङ्गलादेशका पूर्व प्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हालाई राजधानी ढाकास्थित एक विशेष अदालतले ११ वर्षको जेल सजाय सुनाएको छ । ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगहरूमा उनलाई क्रमशः चार र सात वर्षको सजाय सुनाइएको हो ।
ढाकाको विशेष अदालतका न्यायाधीश शेख नजमुल आलमले उक्त फैसला सुनाएका थिए । उनले यी दुई मुद्दाको छुट्टाछुट्टै सजाय भोग्नु पर्ने बीबीसीले जनाएको छ ।
बीबीसीका अनुसार पूर्व प्रधानन्यायाधीश सिन्हा र अन्य सात जनालाई नक्कली कागजात प्रयोग गरेर पहिले फार्मर्स ब्याङ्क भनिने हाल पद्मा नाम रहेको ब्याङ्कबाट चार करोड टाका रकम हिनामिना गर्न संलग्न रहेको ठहर गरिएको छ । उक्त रकम सिन्हाको बैङ्क खातामा जम्मा गरिएको र अवैध रूपमा विदेश पठाइएको थियो ।
पूर्व प्रधानन्यायाधीश सिन्हासहित ११ जना अभियुक्तमध्ये ८ जनालाई फरक-फरक सजाय सुनाइएको छ । बाँकी दुई आरोपीलाई भने रिहा गरिएको छ । यसअघि जनवरी ५, २०२० मा ढाकास्थित एक अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
सन् २०१६ मा सिन्हाले सरकारसँगको कडा मतभेदका माझ छुट्टीमा विदेश गएर त्यतैबाट राजीनामा पठाएका थिए । पहिले संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने उनी पछि क्यानडा सरेको बताइएको छ ।
तस्बिर :ढाका ट्रिब्यून