पद्मश्री पुरस्कार : तुलसी गौडा र हरेकाला हजाब्बाको तस्बिर चर्चामा
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २०१ पटक पढिएको
सोमबार भारतको राजधानी नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा पद्मश्री पुरस्कार लिन पुगेका दुई जनाको तस्बिर अहिले एकदमै चर्चामा आएका छन् । ७७ वर्षीया आदिवासी महिला तुलसी गौडा र ६५ वर्षीय सुन्तला व्यापारी हरेकाला हजाब्बा राष्ट्रपति कार्यालयमा पुरस्कार लिन जाँदा खाली खुट्टै गएका थिए । उनीहरुका सोहि तस्बिर अहिले चर्चामा आएका हुन् ।
पर्यावरणको सुरक्षामा दिएको योगदानका लागि गौडालाई पद्मश्री पुरस्कारबाट सम्मानित गरिएको थियो । त्यस्तै आफ्नो कमाइबाट दक्षिण कन्नाडाको न्युपादुपु गाउँका गरिब बालबालिकाहरूलाई पढाउन मद्दत गरेका हजाब्बालाई पनि पद्मश्री पुरस्कारबाट सम्मानित गरिएको थियो ।
गौडा आफ्नो जातिको परम्परागत पहिरन सहित खाली खुट्टा राष्ट्रपति भवन पुगेकी थिइन् । उनि कर्नाटककी पर्यावरणविद् हुन् । छ दशकदेखि उनी पर्यावरण संरक्षण गतिविधिमा सामेल छिन् । उनले अहिलेसम्म ३० हजार बिरूवा रोपेकी छिन् । उनलाई जंगलकी इन्साइक्लोपिडिया (वन विश्वकोष) भनेर पनि चिनिन्छ । उनले १२ वर्षको उमेरदेखि नै बिरूवा रोप्न थालेकी थिइन् । ती बिरूवाको हेरचाह उनी आफैंले गर्थिन् । उनि यस अघि वन विभागमामा स्वयंसेवकको रूपमा काम गर्थिन भने अहिले विभागीय कर्मचारीको रुपमा काम गर्छिन्।
हजाब्बा एक साधारण सुन्तला व्यापारी हुन् । उनले आफ्नै पुँजीबाट गाउँमा बालबालिकाहरूका लागि प्राथमिक र माध्यामिक विद्यालय बनाएका थिए । उनि आफू निरक्षर भएर पनि गाउँको शिक्षाको लागि गरेको मेहेनत, संघर्ष र सोच प्रति धेरै मानिसहरुले तारिफ गरेका छन् । दक्षिण कन्नाडाको न्युपादुपु गाउँमा उनले स्थापना गरेको विद्यालयले धेरै गरिब बालबालिकाहरूलाई पढाउन मद्दत गरेको बताइएको छ ।
सन् २००० , विद्यालयमा २८ जना बालबालिका भएको समय तस्बिर
सुन्तला बेचेर दिनमा १५० रुपैयाँ कमाउने हजाब्बाले सन् २००० मा गाउँमा विद्यालय बनाएका थिए । त्यस भन्दा अगाडी त्यस गाउँमा कुनै विद्यालय थिएन । बैंगलोर बाट ३५० किलोमिटर दुरीमा रहेको विद्यालयमा १३० जना विद्यार्थी पढ्न मिल्थ्यो । अहिले उक्त विद्यालयलाई दक्षिण कन्नड़ जिल्ला पंचायत हाई स्कूलको नामले चिनिन्छ ।
उक्त समारोहमा राष्ट्रपति रामनाथ कोविन्दले ७ जनालाई प्रतिष्ठित पद्म विभूषण, १० जनालाई पद्म भूषण र १०२ जनालाई पद्मश्री पुरस्कारबाट सम्मानित गरेका थिए ।
हरेक वर्ष भारतको गणतन्त्र दिवसको दिन (२५ जनवरी) पद्मश्री पुरस्कारको घोषणा गरिने र अप्रिलमा पुरस्कृत गरिन्छ । तर, गत वर्ष कोरोना भाइरसको कारणले उक्त समारोह हुन सकेन । त्यहीं कारणले गर्दा यसवर्ष सन् २०२० र सन् २०२१ दुवै वर्षको विजेताहरुलाई सम्मानित गरिएको थियो ।