हजारौं आप्रवासी प्रवेश गर्न खोजे पछि पोल्याण्डको सिमामा कडाइ
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २१८ पटक पढिएको

पोल्याण्डले बेलारुससँगको पूर्वी सीमामा प्रवेश गर्न खोजेका आप्रवासीलाई प्रवेशमा रोक लगाएको छ । हजारौं आप्रवासीहरु पोल्याण्ड प्रवेशका लागि आइरहेको बीबीसीले जनाएको छ।
बीबीसीका अनुसार पोल्याण्ड सरकारले सोमवार एउटा आपत्कालीन बैठक बोलाउँदै उक्त क्षेत्रमा १२ हजार फौज खटाएको छ । अहिले सीमा क्षेत्रमा फलामे तारले घेरिएको छ। आप्रवासीहरु फलामे तार नाघेर नै पोल्याण्ड तर्फ आउने प्रयासमा रहेको बीबीसीले जनाएको छ।
मध्यपूर्व र एसियाली राष्ट्रबाट बेलारुस पुगेका आप्रवासीहरु हाल पोल्याण्डको सीमामा आइपुगेका हुन् । बेलारुसले आप्रवासीहरुलाई आफ्नो भूमिमा पठाएको भन्दै पोल्याण्डले त्यसलाई शत्रुतापूर्ण कार्य भनेको छ ।
यसैबीच, हजारौं संख्यामा आप्रवासी प्रवेश गर्न खोजेपछि त्यसलाई रोक्न खोजेको पोल्याण्डको आलोचना भइरहेको छ। केही आप्रवासीको चिसोका कारण मृत्यु भएको छ । पोल्याण्डबाट निकालिँदा र बेलारूसले फिर्ता लिन नचाहँदा पोल्याण्डको जङ्गलमा उनीहरू अलपत्र परेका छन् । आप्रवासीहरुले आफूहरुलाई बेलारुस छाड्न बाध्य पारेको बताएका छन् ।
बेलारुस तानाशाह भएको अन्तिम युरोपेली राष्ट्र हो । बेलारुसमा ‘युरोपका अन्तिम तानाशाह’ का रुपमा परिचित एलेक्सजेन्डर लुकास्हेनले २६ वर्ष भन्दा लामो समयदेखि सत्ता संचालन गर्दै आएका छन् । गत अगस्टमा भएको निर्वाचनमा उनी छैटौं पटक राष्ट्रपतिमा निर्वाचित भएका थिए । तर, त्यसलाई धेरै युरोपेली राष्ट्रले मान्यता दिएन । र, युरोपियन युनियनले एलेक्सजेन्डर लुकास्हेनमाथि कयौं प्रतिबन्ध लगाएको थियो।
आफू माथि प्रतिबन्ध लगाइएपछि लुकास्हेनले आप्रवासीको लहरलाई पोल्याण्ड लगायत अन्य देश तर्फ पठाएको अनुमान गरिएको छ ।
तस्बिर: गेटी इमेज