अफगानिस्तानमा भोकमरीको त्रास
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ४९८ पटक पढिएको

अफगानिस्तानको राजधानी काबुलभन्दा ५० माइलको दूरीमा रहेको एक मैदानमा अन्न पाउने आशा सहित मानिसहरूको भिड बढ्न थालेको छ । विश्व खाद्य कार्यक्रमले अन्न बाढेको उक्त क्षेत्रमा तालिबानले भिडलाई शान्त राखे पनि मानिसहरूमा आक्रोश र त्रासको भाव बढिरहेको छ ।
त्यहाँ दुई करोड २० लाख मानिसलाई सहयोग गर्न विश्व खाद्य कार्यक्रमलाई खाद्य आपूर्ति बढाउनु पर्ने दबाव रहेको बीबीसीले उल्लेख गरेको छ । विज्ञहरूले अनुमान गरे जस्तो भयो भने यो हिउँदमा धेरै जना नराम्रो भोकमरीको चपेटामा पर्ने आकलन गरिएको छ ।
आइतवार काबुल आएक़ा विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बिज्लीले अफगानिस्तानको अवस्था निकै जोखिमपूर्ण भएको बताएका छन् । पृथ्वीमै सबैभन्दा खराव मानवीय सङ्कट खेप्न गइरहेका बताउँदै अनुमान गरेको भन्दा नराम्रो अवस्था भएको उनको भनाइ छ ।
उनले भनेका छन्, "पन्चानब्बे प्रतिशत मानिससँग यथेष्ट खाद्यान्न छैन । अनि अब हामी दुई करोड ३० लाख मानिस भोकमरीको प्रकोपमा पर्न गइरहेको देख्दै छौँ ।आगामी छ महिना विपत्तिपूर्ण हुनेछ। यो पृथ्वीको नर्क हुनेछ।"
तालिबानले अफगानिस्तानलाई नियन्त्रणमा लिनुअघि असरफ घानीको सरकारले विदेशी सहायताका कारण विपद्को सामना गर्न सक्ने मानिएको थियो । तर यो अपेक्षा उनको सरकारको पतनसँगै हराएको छ ।
महिलालाई शिक्षाबाट वञ्चित गर्ने र शरिया कानुनलाई लागु गर्ने पक्षमा रहेको तालिबानलाई सहयोग गरेको नदेखियोस भन्ने हेतुले पश्चिमा देशहरूले अफगानिस्तानलाई गर्ने सहयोग बन्द गरेका छन् ।
तस्बिर :गेटी ईमेज