कपिलवस्तुमा हैजा : साढे दुई लाख भन्दा बढी हैजाविरुद्धको खोप ल्याउने तयारी
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २६० पटक पढिएको

सरकारले साढे दुई लाख भन्दा बढी हैजाविरुद्धको खोप ल्याउने भएको छ । एक महिनादेखि कपिलवस्तु जिल्लामा फैलिएको हैजा पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेपछि उक्त खोप ल्याउन लागिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट दुई लाख ५२ हजार ३६३ डोज खोप स्वीकृति भैसकेको छ । उक्त खोप कृष्णनगर, महाराजगन्ज, शिवराज, विजयनगर र यशोधरा लगायतका पालिकाका जोखिममा रहेको जनसङ्ख्या हेरेर मगाइएको मन्त्रालयले जनाएको छ ।
डब्लुएचओबाट स्वीकृत भएको खोप यूनिसेफको संयन्त्रबाट आउने भएकोले छिट्टै हैजा विरुद्द खोप कार्यक्रम सुरु गरिने बताइएको छ । हैजाको खोप डब्लुएचओको भण्डारमा मात्रै रहने भएकाले खोप आवश्यक परेमा फेरि माग गर्नुपर्ने अवस्था रहेको मन्त्रालयले जनाएको छ ।
हैजाविरुद्धको यो खोप सो क्षेत्रका सबै नागरिकलाई दुई मात्रा दिइने बताइएको छ । उक्त खोपको प्रभावकारिता ७० प्रतिशत मात्रै भएकाले खोपसँगै सरसफाइमा ध्यान दिनु आवश्यक रहेको अधिकारीहरूको भनाइ छ ।
हालसम्म हैजाबाट १ हजार ३२९ जना प्रभावित भएको र ६ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ । अझै दुई जनाको उपचार भइरहेको छ । गत असोज १८ गतेदेखि कपिलवस्तु जिल्लाका विभिन्न स्थानमा झाडापखाला र बान्ताका बिरामीहरू देखिन थालेका थिए । तर प्रयोगशाला परीक्षणका क्रममा उनीहरूमा हैजा भएको प्रमाणित भएको थियो ।
डब्लुएचओका अनुसार हैजा एकप्रकारको गम्भीर खालको झाडापखाला हो । यसलाई समयमा उपचार गरिएन भने पीडितको मृत्यु केही घण्टामै हुन सक्छ । भिब्रिओ कोलेरा नाम गरेको ब्याक्टेरियाका कारण यो रोग लाग्छ ।
एक अध्ययन अनुसार विश्वभरि बर्सेनि १३ लाख देखि ४० लाख मानिसलाई हैजा लाग्ने गर्छ भने बर्सेनि २१ हजार देखि १ लाख ४३ हजारको मृत्यु हुने गर्छ ।
हैजा भएका ८० प्रतिशत बिरामीको जीवनजल प्रयोग गरेर सफलतापूर्वक उपचार हुने हुँदा अरू पानीजन्य रोगमा जस्तै हैजा रोकथाम गर्न सुरक्षित पानी तथा सरसफाइ महत्त्वपूर्ण हुन्छन् । तस्बिर :डब्लुएचओ नेपाल