विश्वभर कोरोना संक्रमितको संख्या २५ करोड नाघ्यो, संक्रमणदर ३६ प्रतिशतले घटे

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २५९ पटक पढिएको

 

सोमबार विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५ करोड नाघेको छ । समाचार संस्था रोयटर्सको तथ्यांकअनुसार पछिल्ला ३ महिनामा दैनिक संक्रमण ३६ प्रतिशतले घटेको छ ।

पछिल्लो समय विश्वका केही देशमा संक्रमण दर घटे पनि डेल्टा भेरियन्टका कारण पूर्वी युरोपमा भने संक्रमण बढिरहेको छ । २४० मध्ये ५५ देशमा अहिले पनि कोरोना संक्रमण बढिरहेको छ । पछिल्लो समय रुस, युक्रेन, ग्रीसलगायतका देशमा संक्रमण बढिरहेको छ ।

जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार सबैभन्दा बढी अमेरिकामा ४ करोड ६४ लाखभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै अमेरिकामा ७ लाख ५४ हजारभन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

त्यस्तै विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५० लाख ४९ हजार नाघेको छ । पछिल्लो समय विश्वका विभिन्न मुलुकले कोरोनाविरुद्धको खोप अभियानलाई पनि तीव्रता दिएका छन् । 

विश्व स्वास्थ्य संगठनकी संक्रामक रोग विशेषज्ञ मारिया भान केरखोबेले सन २०२२ को अन्त्यसम्ममा कोरोना नियन्त्रण हुन सक्ने सम्भावना रहेको बताएकी छिन् । अहिलेसम्म विश्वभर ७ अर्ब २४ करोड डोजभन्दा बढी खोप लगाइसकिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित