छठ पर्व : आज ‘नहाए खाए ’
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ३५७ पटक पढिएको
मिथिला क्षेत्रमा सूर्य उपासनाको महापर्व छठको रौनक छाए सँगै आज ‘नहाय–खाय’ विधि मनाइँदै छ । पर्व सुरु भएसँगै आज कात्तिक शुक्ल चौथीका दिन व्रतालुले स्नान गरी व्रत बसेर चोखो खाने गर्दछन् । यहि विधिलाई मिथिलामा ‘नहाय–खाय’ भन्ने गरिन्छ ।
निरामिष (साविक) भोजन सुरु गरेर तृतीयाकै दिन व्रत विधि सुरु हुने परम्परा छ । मिथिलामा अहिले सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जदैछन् ।
कोरोना सङ्क्रमण कम भएकोले यसपालि धक खोलेर पर्व मनाउन पाइएको व्रतालुको भनाइ छ । गत वर्ष कोरोनाले घरआँगनमै छठ मनाउनुपरेको सम्झना गर्दै यसपालि भने पर्व मनाउन सहज भएको व्रतालु बताउँछन् ।
पर्वमा महिला र पुरुष जसले व्रत गरे पनि हुने विधान (शास्त्रीय मत) छ। श्रद्धा, निष्ठा र आत्मिक शुद्धिलाई अत्यन्त महत्व दिइने यस पर्वमा ठेकुवा (गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घ्यूमा बनाइने खास परिकार), भुसुवा (कसार) र अन्य मिष्टान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिधिएको चामल र गहुँको पिठोबाट नै पकाइने परम्परा छ । यी परिकार पकाउन चुलो पनि नयाँ प्रयोग गरिन्छ ।
आइतबार (कात्तिक शुक्ल तृतीया) का दिन ‘अरबा–अरबाइन’ र आज (चौथी तिथि) ‘नहाय–खाय’ विधि गर्ने व्रतालुले भोलि कात्तिक शुक्ल पञ्चमीका दिन दिनभर निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठी देवीलाई चढाएर प्रसादस्वरुप खाने गर्दछन् । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ ।
त्यसपछि षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा पसेर नुहाएसँगै अस्ताउँदा सूर्यलाई अघ्र्य दिएर प्रसाद राखिएको डाली हातमा उठाएर सूर्यलाई देखाइन्छ । यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ । यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद राखिएको डाली सप्तमीका दिन बिहानै उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व सम्पन्न हुने परम्परा छ ।