संज्ञा मल्ल बनिन् राष्ट्रसंघको ‘वर्ष महिला प्रहरी –२०२१’
- वर्ल्ड दैनिक
- २ साल अघि
- ४८५ पटक पढिएको
संयुक्त राष्ट्रसंघले नेपालकी संज्ञा मल्ललाई ‘वर्ष महिला प्रहरी –२०२१’ अवार्ड प्रदान गर्ने घोषणा गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार भर्चुअल माध्यमबाट आयोजना हुने कार्यक्रममा मल्ललाई सो अवार्ड प्रदान गर्ने कार्यक्रम छ ।
महासचिव गुटेरेसले शान्ति मिसनमा कार्यरत रहेको मल्लको कार्यले कोभिड–१९ महामारी र अन्य जोखिममा राष्ट्रसंघीय सुरक्षाकर्मीलाई अनुकूलन हुने सुरक्षात्मक उपायलाई वृद्धि गरेको जनाएका छन् । विश्वभर शान्ति र सुरक्षालाई अगाडि बढाउन महिला प्रहरी अधिकारीहरूको धेरै योगदान रहेको भन्दै मल्लले संयुक्त राष्ट्र संघको उत्कृष्टलाई मूर्त रूप दिएको गुटेरेसले बताएका छन् ।
अफ्रिकी राष्ट्र कंगोमा संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत मल्ल राजधानी किन्सासामा रहेको मिसनको मुख्यालयका जनस्वास्थ्य तथा वातावरण इकाई प्रमुख हुन् । राष्ट्रसंघले जारी गरेको विज्ञप्तिमा इबोला र कोभिड–१९ को महामारी तथा गत मे महिनामा भएको ज्वालामुखी विस्फोटसहितको प्राकृतिक प्रकोपमा मल्लले खेलेको भूमिकालाई सो अवार्ड प्रदान गरिएको उल्लेख छ ।
मल्लले नेतृत्व गर्ने ईकाईले राष्ट्रसंघमा कार्यरत कर्मचारी र स्थानीय बासिन्दालाई स्वास्थ्य सम्बन्धी सावधानीको मापदण्ड सचेत गराउँदै आएको राष्ट्रसंघले जनाएको छ । उनले कर्मचारीहरूको स्वास्थ्य र कल्याण सम्बन्धी नीति र प्रक्रियाहरू लागू गर्नका साथै संयुक्त राष्ट्र प्रहरीको वातावरणीय पहलहरू कार्यान्वयन गरिरहेको बताइएको छ ।
मल्लले यस प्रति प्रतिक्रिया दिँदै भनिन्, ”म यो सम्मान पाउँदा एकदमै खुशी छु । मलाई आशा छ कि यसले मेरो देश र विश्वभरका महिलाहरूलाई प्रहरी बन्न प्रोत्साहन मिल्नेछ । जसलाई अझै पनि प्रायः ‘पुरुषको काम’ को रूपमा हेरिन्छ ।”
उनको नेतृत्वमा कोभिड–१९ को माहामारी रोकथामका लागि स्थानीय बासिन्दा, कंगोका सरकारी अधिकारी तथा राष्ट्र संघमा कार्यरतहरुका लागि ३ सयभन्दा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।
तस्बिर :यूएन न्युज