चिनियाँ गुप्तचरले व्यापार रहस्य चोर्न खोजेको अमेरिकाको दाबी
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ३०४ पटक पढिएको
एक चिनियाँ गुप्तचरले अमेरिकामा भएका उड्डयन कम्पनीहरूबाट व्यापारिक गोप्यता चोर्न खोजेको अमेरिकाको कानुन मन्त्रालयले दाबी गरेको छ ।
मन्त्रालयको एउटा समूहले शू येन्जुन नाम गरेका ती चिनियाँ गुप्तचरलाई आर्थिक जासुसी र व्यापार-रहस्य चोर्न खोजेको भन्दै पाँचवटा मुद्दामा दोषी ठहर गरेको छ । उनलाई ६० वर्षसम्म कारागार र ५० लाख डलरभन्दा बढी जरिवाना हुनसक्ने बताइएको छ ।
चीनले उनिविरुद्ध लगाइएका अभियोग आधारहीन भएको भन्दै अमेरिकी आरोपको खण्डन गरेको भए पनि शुक्रवार आएको उक्त निर्णयबारे चीनले कुनै सार्वजनिक टिप्पणी नगरेको बीबीसीले जनाएको छ । मुद्दा चलाउन अमेरिकालाई हस्तान्तरण गरिएका उनी सम्भवतः प्रथम चिनियाँ गुप्तचर हुन् । सन् २०१८ मा उनि बेल्जियमबाट पक्राउ परेका थिए।
अमेरिकी कानुन मन्त्रालयका अनुसार येन्जुन चिनियाँ राज्य सुरक्षा मन्त्रालयअन्तर्गत रहेको जिआङ्सू शाखाका एक वरिष्ठ अधिकारी हुन् । उक्त शाखाले प्रतिगुप्तचरी, वैदेशिक गुप्तचरी र आन्तरिक सुरक्षासँग सम्बन्धित विषयहरू हेर्छ ।
अमेरिकामा भएका विभिन्न कम्पनीका कर्मचारीहरूलाई येन्जुनले कम्तीमा सन् २०१३ देखि नै लक्षित गरेको अमेरिकी आरोप छ । एउटा घटनामा सन् २०१७ मा उनले जीई एभिएशनका एक कर्मचारीलाई एउटा चिनियाँ विश्वविद्यालयको कार्यक्रममा सहभागी हुन जाने चाँजोपाँजो मिलाइदिएका थिए । जसको लागि लागि येन्जुनले ती कर्मचारीको खर्च र भत्ता समेत जुटाइदिएका बीबीसीले उल्लेख गरेको छ ।
त्यसको एक वर्षपछि येन्जुनले ती विज्ञसँग केही गोप्य प्राविधिक सूचना मागेका थिए। एफबीआईसँग सहकार्य गरिरहेको उक्त कम्पनीको सहयोगमा ती कर्मचारीले येन्जुनलाई दुई पाना "संवेदनशील सूचना" भएको दस्ताबेज इमेल गरिदिए । येन्जुनले पछि ती कर्मचारीलाई जीई एभिएशनले उपलब्ध गराएको कम्प्युटरको फाइल डाइरेक्टरी पठाउन अनुरोध गर्दै ती कर्मचारीसँग बेल्जियममा भेट्ने प्रयास पनि गरेका थिए । त्यही क्रममा उनी पक्राउ परेको बताइएको छ ।
अमेरिकी सङ्घीय जाँच ब्यूरो एफबीआईका सहायक निर्देशक एलन कोलरले चीनको वास्तविक लक्ष्यबारे अस्पष्ट भएकाहरुको लागि यो घटना एउटा चेतावनी भएको बताएका छन् ।
चीनले नयाँ किसिमको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको तथा अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ सैन्य आक्रमणबाट ताइवानलाई जोगाउने वाचा गरेको बेला यो घटना बाट दुइ देशबीच तनाव बढेको बताइएको छ ।
सीएनएनका अनुसार अमेरिकी गुप्तचर संस्था सीआईएका निर्देशक बिल बर्न्सले अमेरिकाका लागि चीन एउटा ठूलो प्राविधिक खतरा भएको टिप्पणी गरेका छन् । गत महिना उनले आफ्नो गुप्तचर निकायले चीनमाथि थप निगरानी राख्ने जनाएका थिए ।
तस्बिर : रोयटर्स