इराकी प्रधानमन्त्री माथि ड्रोन आक्रमण
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २१० पटक पढिएको

इराकी प्रधानमन्त्री मुस्तफा अल-खादिमी माथि ड्रोन आक्रमण भएको छ । राजधानी बग्दादस्थित आफ्नै निवासमा आक्रमण भएपछि प्रधानमन्त्री अल-खादिमीले आफु त्यहाँबाट भागेको बताएका छन् ।
सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्री अल-खादिमीलाई अस्पताल लगिएको छ। तर उनले आफू घाइते नभएको बताएका छन् । सामाजिक सञ्जाल ट्विटर मार्फत उनले आफूलाई केहि नभएको र इराकको हितका लागि सबैलाई शान्त र संयमित हुन आह्वान गरेका छन् ।
अधिकारीहरूका अनुसार राजधानीस्थित ग्रीन जोनमा रहेको उनको निवासमा विस्फोटक पदार्थ राखिएको एउटा ड्रोनबाट आक्रमण गरिएको थियो। उनीहरुले प्रधानमन्त्रीको सुरक्षार्थमा खटिएका ६ जना सुरक्षाकर्मीहरु घाइते भएको बताएका छन् । अहिलेसम्म त्यसको जिम्मा कसैले पनि लिएको छैन ।
यसैबीच अमेरिकाले सो घटनाको भर्त्सना गर्दै अनुसन्धानमा सहयोग गर्ने प्रस्ताव गरेको बीबीसीले जनाएको छ।
प्रधानमन्त्री अल-खादिमी गुप्तचर निकायका पूर्वप्रमुख पनि हुन्। उनले गत वर्षको मे महिनामा प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए ।