दसैंतिहारमा च्याङग्रा निकासी : यस वर्ष मुस्ताङमा ३५ करोड भित्रियो
- वर्ल्ड दैनिक
- २ साल अघि
- १८५ पटक पढिएको
यसपालिको दसैं तिहारमा मुस्ताङबाट ३५ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ । सरदर प्रतिगोटा ३५ हजारका दरले दस हजार च्याङग्रा बेचेका कृषकले ३५ करोड रुपैयाँ भित्र्याएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।
केन्द्रका प्रमुख दण्डपाणि सापकोटाले दसैंमा सात हजार र तिहारका लागि तीन हजार वटा च्याङग्रा निकासी भएको राससलाई जानकारी दिएका छन् । ‘स्वास्थ्य परिक्षण गरेर निकासी गरेका आधारमा करिब दश हजार च्याङग्रा बाहिरिएका छन्’, उनले भने, ‘कृषकले गोठबाटै प्रतिगोटा रु. ३५ हजारका दरले च्याङग्रा बेचेका छन् ।’
अघिल्ला वर्षहरुमा २० देखि २५ हजारको सङ्ख्यामा भेडाच्याङग्रा निकासी हुँदै आएको थियो । तिब्बतबाट भेडाच्याङ्ग्रा नआएपछि बिगतको तुलनामा झण्डै आधा सङ्ख्यामा भेडाच्याङग्रा निकासी भएको हो । जसका कारण मुस्ताङका घुम्ती गोठ र खोरपालेहरुले उत्पादन गरेका भेडा च्याङग्राले माग नधान्ने भएपछि कृषक र बीचका व्यापारीहरुले मूल्य बढाएका छन् ।
केन्द्रका अनुसार, यस वर्ष मुस्ताङबाट ठूलो सङ्ख्यामा च्याङग्रा र थोरै सङ्ख्यामा भेडा निकासी भएको छ । व्यापारीहरुले गत वर्षको तुलनामा मुस्ताङमै प्रतिगोटा ५ देखि १० हजारसम्म मूल्य बढेको बताएका छन् ।
म्याग्दी, पर्वत, बागलुङ, कास्की, बुटवल लगायतका क्षेत्रबाट मुस्ताङ पुगेका व्यापारीले भेडाच्याङ्ग्राहरु बजारमा ल्याएका थिए । उच्च हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले विषेश गरी लेकाली जडिबुटीहरु खाने भएकाले दसैं तिहार जस्ता पर्वहरुमा पोसिलो मासुको रुपमा मुस्ताङका भेडाच्याङ्ग्राको माग बढी हुने गर्दछ ।
च्याङग्रालाई मासु खानका लागि योग्य बनाउन चारदेखि पाँच वर्षसम्म पाल्नुपर्छ । मुस्ताङमा च्याङग्रा पालनको प्रर्वद्धन गर्न प्रदेश सरकारले स्रोत केन्द्र र फार्म स्थापनाका लागि अनुदानको ब्यवस्था मिलाएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शर्माले बताएको राससले उल्लेख गरेको छ ।