अमेरिकामा एक कन्सर्टमा भागदौड मच्चिँदा ८ जनाको मृत्यु, ३०० घाइते
- वर्ल्ड दैनिक
- २ साल अघि
- २९० पटक पढिएको
अमेरिकाको टेक्ससमा साङ्गितिक महोत्सव (कन्सर्ट) मा भागदौड मच्चिँदा कम्तीमा ८ जना मानिसको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार ११ जना मानिसलाई हृदयाघात भएर अस्पताल लगिएको थियो। जसमध्य आठ जनाको मृत्यु भएको थियो। शुक्रवार राति करिब ५० हजार मानिसको सहभागिता भएको महोत्सवमा ३०० जना घाइते भएका छन् ।
ट्रयाभिस स्कटको एस्ट्रोवर्ल्ड फेस्टिभलमा केही व्यक्ति मञ्चको अगाडि जान खोज्दा भागाभाग मच्चिएको अधिकारीहरूले बताएका छन् ।
मानिसको भिडले मञ्चको अघिल्लो भागलाई घेर्न खोज्दा मानिसहरू आतङ्कित हुन थालेको ह्युस्टन, अग्नि नियन्त्रक प्रमुख स्यामुयल पेनाकाले पत्रकारहरूलाई बताएका छन् । उनका अनुसार भागाभागमा परी मानिसहरू घाइते भएपछि त्यहाँ उपस्थित अरू मानिस झनै आत्तिएका थिए ।
मानिसहरू घाइते भएको देखेपछि आयोजकले कार्यक्रम बन्द गरेका थिए । घाइतेहरूको सङ्ख्या ठूलो भएका कारण उपलब्ध चिकित्सा सुविधा पर्याप्त नभएको अग्नि नियन्त्रक प्रमुखले गरेका थिए ।
एबीसी थर्टिनले जनाए अनुसार शुक्रवार सयौँ मानिसहरू कार्यक्रम परिसरमा पुगेका थिए । कन्सर्टमा प्रवेश गर्नका लागि उनीहरूले सुरक्षा जाँच गर्ने मेटल डिटेक्टरजस्ता उपकरणहरू नै तोडमोड गरेका थिए ।
स्थानीय प्रहरीका अनुसार घटनाबारे विस्तृत जानकारी अझै आइसकेको छैन । आयोजक ‘लाइभ नेसन’ले तत्काल घटनाबारे कुनै प्रतिक्रिया नजनाएको समाचार एजेन्जी रोयटर्सले जनाएको छ । गत वर्ष कोरोनाभाइरस महामारीका कारण स्थगित गरिएको महोत्सव सन् २०१८ देखि हरेक वर्ष एआरजी पार्कमा हुँदै आएको थियो ।