यमपञ्चकको पाँचौँ दिन भाइटीका : उत्तम साइत ११ बजेर २ मिनेटमा
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ३६१ पटक पढिएको

यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाईंदै छ ।
कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका तिहारको प्रमुख दिनहरु मध्ये विशेष मानिन्छ । यस वर्षको भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा भाइटिका लगाउनु उत्तम रहेको नेपाल पंचाङ्ग निर्णायक समितिले जनाएको छ। त्यसपछि दिनभर नै टीका लगाउन सकिने समितिले बताएको छ ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाइदिने र दक्षिणा तथा उपहार दिने प्रचलन रहेको छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ ।
दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाण्डूको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक आजैका दिन मात्र खुल्ने गर्दछ । दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।
यसैबीच अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सभापति प्रा.डा. माधव भट्टराई र सदस्य सचिव आचार्य सन्तोष वाशिष्ठले विज्ञप्ति जारी गर्दै विभिन्न देशमा भाइटीकाको साइत सार्वजनिक गरेका छन् ।