उत्तर कोरियामा ‘भोकमरी’ को समस्या
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ३२६ पटक पढिएको

उत्तर कोरियामा भोकमरी हुनेबारे कठोर चेतावनी आइरहेका बेला देश त्यागेर दक्षिण कोरियामा रहेकाहरूले आफ्ना परिवारहरूले भोकमरीको सामना गरिरहेको बताएका छन् ।
"अनाथ बालबालिकाहरू सडकमा धेरै देखिने र भोकमरीका कारण मानिसहरूको मृत्यु भइरहेका खबर निरन्तर रूपमा आइरहेका छन्," उत्तर कोरियामा स्रोत भएकी डेली एनकेकी प्रधानसम्पादक ली साङ योङले बीबीसीलाई भनिन् । खाद्यान्न अभावको अवस्था सोचिएभन्दा बढी खराब हुँदा "उत्तर कोरियामा निम्न वर्गीय मानिसहरू धेरैभन्दा धेरै पीडित" भएको उनको भनाई छ ।
बीबीसीका अनुसार उत्तर कोरियाबाट सूचना पाउने कठिन हुने अवस्था बढ्दो छ । कोभिड-१९ को सङ्क्रमणबाट जोगिन भन्दै गरिएको सीमा बन्द गत वर्षको जनवरीदेखि नै कायम छ । दक्षिण कोरियामा रहेकालाई उत्तर कोरियामा बस्ने परिवार र साथीभाइबाट सन्देश पाउन पनि मुस्किल हुँदै गएको छ र त्यसरी सूचना लिनु खतरनाक बनेको छ।
त्यस्तै अनधिकृत मोबाइल फोन लिएको पाइए त्यस्ता मानिसलाई श्रम शिविरमा पठाइने गरेको बताईएको छ । केही मानिसहरू भने चिठ्ठी वा आवाज सन्देश आफ्ना आफन्त वा सञ्चारमाध्यमलाई पठाइरहेका छन् । उत्तर कोरियामा खाद्यान्न अभावको समस्या सधैँको हो तर कोरोनाभाइरसको विश्वव्यापी महामारीले त्यो अवस्थालाई अझै खराब बनाएको बताइएको छ ।
देशको अहिलेको अवस्थालाई नेता किम जोङ उनले सन् १९९० को खराब अवस्थासँग दाँजेका छन् । "आर्डस मार्च" नाम दिइएको सन् १९९० को त्यस्तो विपद्मा लाखौँ मानिसको भोकमरीका कारण ज्यान गएको थियो।
संयुक्त राष्ट्रसङ्घले त्यहाँ दुईदेखि तीन महिनासम्म अन्नको अभाव हुने आकलन गरेको छ । यो वर्ष धान र मकै जुटाउन सेनासहित दशौँ हजार मानिसलाई खेतमा काम गर्न पठाइएको जनाएको छ ।
गत साता दक्षिण कोरियाको गुप्तचरसम्बन्धी राष्ट्रिय निकाय (एनआईएस)ले औषधि र आवश्यक सामाग्रीको अभावले उत्तर कोरियामा बिमारीहरू सङ्ख्या तीव्र गतिमा बढिरहेको जनाएको थियो ।
त्यस्तै अमेरिकी गुप्तचर निकायहरूले विश्वव्यापी तापमानले असर पुर्याउने र अन्न फलाउन कठिन हुने अति जोखिममा रहेका ११ देशको सूचीमा उत्तर कोरियालाई राखेको छ। सन् २०१२ को यूएनईपी प्रतिवेदनले उत्तर कोरियाको औसत तापक्रम सन् १९१८ र २००० को बीचमा १.९ डिग्री सेल्सियसले बढेको जनाएको छ।
सन् २०१९ मा तयार भएको ग्रीन क्लाइमेट फन्ड प्रतिवेदनका अनुसार उत्तर कोरियामा वार्षिक औसत तापक्रम सन् २०५० सम्ममा २.८-४.७ डिग्री सेल्सियस पुग्ने ठानिएको छ ।