यस वर्षको लक्ष्मीपूजामा १२७० मेगावाट विद्युत पिक डिमाण्ड
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ४०५ पटक पढिएको

यस वर्ष लक्ष्मीपूजाको दिन विद्युत उच्च माग (पिक डिमाण्ड) १२७० मेगावाट पुगेको छ । नेपाल विद्युत प्राधिकरणले १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरे पनि हिजो साँझ सवा ६ बजे पिक डिमाण्ड १२७० मेगावाट रेकर्ड गरेको हो ।
गत वर्षको तुलनामा यस वर्षको लक्ष्मीपूजाको पिक डिमाण्ड १४७ मेगावाट बढी हो। गत वर्ष प्राधिकरणले लक्ष्मीपूजाको दिन पिक डिमाण्ड ११२३ मेगावाट रेकर्ड गरेको थियो ।
यस वर्षको लक्ष्मीपूजाको पिक समयमै ४८ मेगावाट विद्युत भारत निर्यात गरिएको छ भने आयात शुन्यमा झरेको छ । विगतका वर्षहरूमा लक्ष्मीपूजाको माग धान्नका लागि विद्युत आयात हुँदै आएकोमा अब आन्तरिक उत्पादनले नै पुग्न थालेको प्राधिकरणले जनाएको छ।
यस वर्ष काठमाण्डू उपत्यकासहित यस आसपासका क्षेत्रको पिक डिमाण्ड ३२०.६४ मेगावाट रेकर्ड गरिएको छ। गत वर्ष यस क्षेत्रको पिक डिमाण्ड २९६ मेगावाट थियो ।
चालु आर्थिक वर्षको अहिलेसम्मको पिक डिमाण्ड १६१४.८ मेगावाट रेकर्ड गरिएको छ । यो डिमाण्ड गत असोज १० गतेको हो । सोही दिनको निर्यातसहित प्रणालीको अधिकतम विद्युत माग १७५८.८ रेकर्ड गरिएको छ।