कोरोना विरुद्दको पहिलो खाने औषधिलाई बेलायतले गर्यो स्वीकृत

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २६८ पटक पढिएको

 

कोरोना उपचारका खाने चक्कीलाई बेलायतको औषधि नियामक निकायले स्वीकृत गरेको छ । मोल्नुपिराभिर नाम दिईएको उक्त औषधिलाई बेलायतले बिहिबार स्वीकृत गरेको हो । मोल्नुपिराभिर अमेरिकी कम्पनीहरू मर्क, शार्प एन्ड डोम र रिजब्याक बायोथेराप्यूटिक्सले बनाएको कोभिड विरुद्धको पहिलो खाने औषधि हो । 

बेलायतले शुरूमा यो वर्षको अन्त्यसम्ममा ४ लाख ८०हजार मोल्नुपिराभिर चक्की पाउने गरी खरिद सम्झौता गरेको बीबीसीले जनाएको छ । 

भर्खरै संक्रमित भएका गम्भीर बिरामीलाई यो औषधि दिनको दुईपटक दिईने बताईएको छ । शुरूमा साधारण रुघाखोकीको उपचारका लागि उक्त चक्की विकास गरिएको थियो । यसले कोरोना संक्रमितलाई अस्पताल भर्ना हुनुपर्ने अथवा मृत्यु हुने जोखिम आधाले घटाइदिएको क्लिनिकल परीक्षणहरूबाट पाईएको छ । 

कोभिडका सामान्य लक्षण देखिएका र रोगप्रतिरोधात्मक क्षमता कम भएका जस्तै मोटोपन, वृद्धावस्था, मधुमेह वा मुटुसम्बन्धी रोग भएका मानिसमा यसको प्रयोगका लागि अनुमति दिइएको बेलायतको औषधि नियामक एमएचआरएले जनाएको छ।

त्यस्तै बेलायतका स्वास्थ्यमन्त्री साजिद जाविदले रोगप्रतिरोधी क्षमता कमजोर भएका मानिसहरूका लागि यो ओखती प्रभावकारी हुने बताएका छन् । स्वास्थ्यमन्त्री जाविदले एउटा वक्तव्यमा भने, "हाम्रो देशका लागि आज ऐतिहासिक दिन हो । कोभिड बिरामीको उपचारका लागि घरमै लैजान सकिने एन्टिभाइरललाई अनुमोदन गर्ने बेलायत विश्वकै पहिलो मुलुक बनेको छ" ।

यसैबीच, युरोपका लागि विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले युरोप फेरि एक पटक कोरोनाभाइरस महामारीको केन्द्रबिन्दु बन्न सक्ने चेतावनी दिएका छन् । आगामी तीन महिनाभित्र त्यस क्षेत्रमा थप पाँच लाख मानिसको ज्यान जान सक्ने सङ्गठनले आंकलन गरेको छ ।  

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित