महामारीले कसरी महिनावारीलाई ध्यान केन्द्रित गर्यो ?
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २५५ पटक पढिएको
पाँच महिनाअघि फाइजर खोप लगाएकी ३० वर्षीया डाह्ये यिमले आफ्नो महिनावारी चक्रमा केही फरक देखिन् ।
उनले असामान्य रूपमा जिउ भारी हुने र माइग्रेन जस्ता अन्य शारीरिक लक्षणहरू महशुस गरिन् । त्यस लगत्तै उनले खोप लगाएका महिलाहरूले महिनावारीमा कस्तो परिवर्तन अनुभव गरे अनलाइनमा हेर्न थालिन् ।
उनले महिनावारी हुँदा धेरैले त्यस्तो अनुभव गरेका पाइन् । तर महिनावारी सम्बन्धि खोप पछि देखिने असरहरुमा वैज्ञानिक जानकारीहरु भने फेला पारिनन् ।
लन्डन र बर्लिनमा पीएचडी गरिरहेकी एक दक्षिण कोरियाली नागरिकले अलजजीरालाई भनिन्, "सेप्टेम्बरमा मेरो दोस्रो डोज पुरा भए पछि, मैले मेरो काखी मुनि एक गाँठो देखेँ र मैले सजिलैसँग पत्ता लगाए यो खोपको असर हो । जसको लागि चिन्ताको लिराख्नु पर्दैन । त्यस पछि म शान्त भए । महिनावारी गडबढको बारेमा पनि जानकारी खोज्दा यस्तो सजिलै सँग बुझ्न पाएको भए मलाई सहज हुने थियो । कोभिड अनुसन्धानको लागि धेरै पैसा खर्च गरिएको छ । मलाई थाहा छ, त्यसमा धेरै प्राथमिकताहरू रहेका छन् । तर महिलाको स्वास्थ्य पनि एक ठूलो प्राथमिकता हो।"
हजारौं महिलाहरूले महिनावारी ढिलाइ, अत्याधिक रक्तस्राव वा अधिक शारीरिक दुखाइ सहित नियमित महिनावारी ढाँचामा अस्थायी परिवर्तनहरू देखिएको बताएका छन् । धेरै देशहरूमा खोप लगाए पछि महिनावारी नियमित रुपमा नभएको रिपोर्टहरु अत्याधिक रहेका अल्जजिराले उल्लेख गरेको छ ।
विश्लेषकहरूका अनुसार यस्तो स्थितिले केही महिलाहरूलाई खोप लिनबाट रोकेको छ । यसले कोभिड खोप बारे निकै भ्रम उत्पन्न गरेको पनि बताइन्छ । जसको सबैभन्दा प्रमुख झूट भनेको यसले बाँझोपन निम्त्याउँछ ।
यद्यपि यसबारे खोजी गर्ने प्रयासहरू भइरहेको छ । सुरुमा चिकित्सकहरुले यसबारे धेरै घटनाहरु नभएको भन्दै त्यस्तो परिवर्तनहरू पनि महामारी-सम्बन्धि तनावमा भएको हुन सक्ने बताएका थिए । अलजजीराका अनुसार यस समस्या सम्बन्धि अहिलेसम्म १ लाख ४० हजार भन्दा बढी रिपोर्टहरू आइसकेका छन् ।
अमेरिकी सरकारको प्राथमिक जनस्वास्थ्य अनुसन्धान एजेन्सी नेशनल इन्स्टिच्युट हेल्थ (एनआईएच) ले गत महिना यस विषयमा हेर्न पाँचवटा राष्ट्रिय संस्थाहरूलाई कुल १ दशमलव ६७ मिलियन डलर अनुदान दिएको थियो ।
युनिसेफका अनुसार विश्वव्यापी जनसंख्याको लगभग २६ प्रतिशत महिलाहरु महिनावारी हुने उमेरका छन् ।
यसैबीच, महामारीले महिनावारीलाई ध्यान केन्द्रित गर्दै खोपहरूले यसलाई कसरि असर गर्न सक्छ भन्ने बारे किन ज्ञान कम छ ? भन्ने प्रश्न थपिदिएको छ ।
यस्ता समस्याहरुले महिनावारी चक्र, महिलाको यौन र प्रजनन स्वास्थ्यले चिकित्सा अनुसन्धानलाई अगाडि बढाउन मद्दत गर्छ भन्ने कुरा अझ व्यापक बनाउन एक प्रमुख भूमिका निभाउन सक्ने अल्जजिराले उल्लेख गरेको छ ।
एक अमेरिकी पत्रकार माया डुसेनबेरीले महिलाको चिकित्सा हेरचाहको कुरा गर्दा यो मुद्दाले वास्तवमा केही फराकिलो समस्याहरू खडा गर्ने बताएकी छिन् । कोभिड विरुद्दको खोप परीक्षण गर्दा जनसंख्याको आधा महिलाहरू महिनावारी हुन्छन र यो तिनीहरूको नियमित स्वास्थ्य अनुभवको सामान्य भाग हो भन्ने ख्याल नगरिएको उनको तर्क छ । उनले यसबारे साधारण ज्ञान र महत्वको कमीले खोपहरूको बारेमा गलत जानकारी फैलिनु आश्चर्य नभएको बताएकी छिन् ।
कोभिडको क्लिनिकल परीक्षणको क्रममा महिला सहभागीहरूलाई महिनावारीको बारेमा केही पनि नसोधिने बताईएको छ ।
यस अघि सन् २०१० र २०१३ मा जापानमा संचालन गरिएको प्यापिलोमाभाइरस र एचआईभी खोप परीक्षणमा केही सहभागीहरूमा असर स्वरुप असामान्य मात्रामा महिनावारी रक्तस्राव हुने कुरा उल्लेख गरिएको थियो ।
त्यस्तै सन् २०१३ र २०१७ को बीच अमेरिकामा इन्फ्लुएन्जा खोप परीक्षण गर्दा यस्तै समस्या देखिएको थियो ।
क्लिनिकल परीक्षणहरूमा महिलाहरुको कमजोर आर्थिक अवस्थाका कारण कम सहभागिता हुने भएकाले यस्ता समस्याहरु उत्पन्न हुने विश्लेषकहरू बताउँछन । भर्खरै मात्र महिला सहभागीहरूलाई क्लिनिकल परीक्षणहरूमा जाँच गरिएको एनआईएचले जनाएको छ । एनआईएचले पनि यसका लागि अनुदान दिनथालेको धेरै भएको छैन । सन् १९९३ भन्दा पहिले महिलाहरूलाई हर्मोनको कारण कारण बताउंदै लैंगिक समूह अध्ययन गर्न धेरै जटिल मानिन्थ्यो ।