तिहारको तेस्रो दिन आज : श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदै
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २६१ पटक पढिएको
यमपञ्चक अर्थात् तिहारको आज तेस्रो दिन । आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ ।
सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता भएका कारण आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ।
कुल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । तर शास्त्रीयरुपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद्हरुको तर्क छन् ।
लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ। वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो ।
हाल पालामा दियोको स्थानमा मैनबत्ती बाल्ने प्रचलन बढे पनि दियोमा तेल राखेर बत्ती बाल्नु नै वैदिक परम्परा भएको धर्मशास्त्रविद्हरु बताउछन् ।
दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गर्ने गरिन्छ ।
लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ। आज साँझ पूजा पछि घरघरमा देउसी भैलो खेल्ने गरिन्छ । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तिनै लोकको शासन गर्ने वरदान बलिराजालाई दिएको बताइन्छ । वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको विश्वास छ ।