तालिबानले अफगानिस्तानमा विदेशी मुद्राको प्रयोगमा लगाए पूर्ण प्रतिबन्ध
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १८६ पटक पढिएको

तालिबानले अफगानिस्तानमा विदेशी मुद्राको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ । तालिबानले कब्जा गरेको कारण अन्तर्राष्ट्रिय समर्थनको पतन भैरहेको बेला उक्त निर्णयले धकेलिएको अर्थतन्त्रमा झन् अवरोध ल्याउने निश्चित भएको बताइएको छ ।
तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले घरेलु कारोबारमा विदेशी मुद्राको प्रचलनलाई अवैध घोषणा गरिएको बताएका छन् । प्रवक्ता मुजाहिदद्वारा जारी गरिएको एक विज्ञप्तिका अनुसार इस्लामिक इमिरेट्सले सबै जनता, पसले, व्यापारी, व्यवसायी र सर्वसाधारणलाई हरेक कारोबार अफगानी मुद्रामा गर्न र विदेशी मुद्रा प्रयोग नगर्न आदेश दिएको छ । अफगान नागरिकले आफ्नै देशको मुद्रा प्रयोग गर्नुपर्ने उनको भनाई छ ।
उक्त आदेश उल्लंघन गर्ने जो कोहीलाई कानुनी कारबाही गरिने समेत विज्ञप्तिमा उल्लेख गरेको छ । राजधानी काबुलको सबैभन्दा ठूलो सैन्य अस्पतालमा १९ जनाको ज्यान जाने गरि भएको आक्रमण पछि मंगलबार यस्तो आश्चर्यजनक घोषणा आएको अल्जजिराले जनाएको छ ।
गत अगस्ट १५ मा तालिबानले सत्ता कब्जा गरेसँगै त्यहाँ अफगानी मुद्रा निकै कमजोर भएको छ । अफगानी बजारमा अमेरिकी डलर व्यापक प्रयोग हुने गर्छ । त्यस्तै पाकिस्तानसँग जोडिएको सीमा क्षेत्रमा पाकिस्तानी रुपैयाँको प्रयोग हुने गर्छ ।
खडेरी ग्रस्त राष्ट्रले नगदको संकट, सामूहिक भोकमरी र नयाँ बसाइ सर्ने संकटको सामना गरिरहेको बेला तालिबानले भने केन्द्रीय बैंकको अरबौं डलर भण्डार जारी गर्न दबाब दिइरहेको छ । अफगानिस्तानको अघिल्लो सरकारले संयुक्त राज्य फेडरल रिजर्भ र युरोपका अन्य केन्द्रीय बैंकहरूसँग अरबौं डलरको सम्पत्ति विदेशमा पार्क गरेको थियो । तर तालिबानले कब्जा गरेपछि, अमेरिकाका साथै विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले अफगानिस्तानको ९ दशमलव ५ बिलियन डलर भन्दा बढी सम्पत्ति र ऋणमा पहुँच रोक्ने निर्णय गरेको थियो ।
तस्बिर : रोयटर्स