‘द बर्ड अफ द यीअर’ बन्यो चमेरो

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ३७५ पटक पढिएको

 

न्यूजील्यान्डमा विवादका बीच एउटा चमेरोलाई ‘वर्ष चरो’ घोषित गरिएको छ। लामो पुच्छर भएको चमेरो अनलाइन मतदानमा सबभन्दा धेरै मत पाएर उक्त उपाधि पाउन सफल भएको हो । प्रतिस्पर्धा आयोजकहरूले न्यूजील्यान्डको स्थलमा पाइने अतिसङ्कटापन्न उक्त स्तनधारी जीवलाई चर्चामा ल्याउन मतदान गरिने जीवको सूचीमा राखेका थिए । 

नउड्ने सुगालाई पछाडि पार्दै चमेरोले उपाधि हात पारेको हो । यसको आकार हाम्रो बूढीऔँलाजत्रो हुन्छ । ५६ हजार ७०० जनाभन्दा बढीले प्रतिस्पर्धामा आफ्नो मत हालेको बीबीसीले उल्लेख गरेको छ । ‘द बर्ड अफ द यीअर’ प्रतिस्पर्धा न्यूजील्यान्डको जैविक विविधता र खतरामा परेका प्रजातिबारे चेतना जगाउन आयोजना गर्ने गरिन्छ । 

त्यस उपाधि पछि सामाजिक सञ्जालमा कैयौँले दुई वर्षसम्म प्रयत्न गरेर चमेरोले पाएको आवश्यक चर्चा र विजय भनेका छन् । कतिपयले भने त्यसलाई ‘तमासा’ भन्दै नकारात्मक टिप्पणी गरेका छन् । त्यस्तै प्रतिस्पर्धाआयोजक पर्यावरणवादी समूह ‘फरेस्ट एन्ड बर्ड’ले कोरोनाभाइरस महामारी सन्दर्भमा चमेराको छवि सुधार्न गरिएको प्रयत्न नभएको बताएको छ । एक विज्ञप्तिमा प्रवक्ता लउरा किओनले भनिन्, "चमेरोलाई मत हाल्ने भनेको सिकारी प्रजातिको नियन्त्रण, वासस्थान संरक्षण र जलवायु कार्ययोजना बनाएर चमेरो संरक्षण गर्ने भन्ने पनि हो।"

वैज्ञानिक जगत्‌मा विद्यमान नियमविरुद्ध जाँदै फरेस्ट एन्ड बर्डले जमिनमा हुने स्तनधारीले पनि चराले जस्तै चुनौती भोगिरहेको भन्दै तीनलाई प्रतिस्पर्धामा राख्ने निर्णय गरेको थियो। लामो पुच्छर भएको चमेरोलाई पेकापेका-टो-रोवा भनेर पनि चिनिन्छ।

प्रतिस्पर्धा विवादमा परेको यो पहिलो पटक भने होइन । सन् २०१९ मा रुसबाट सयौँ मत आएपछि त्यसले मतदानमा धाँधली भएको आशङ्का व्यक्त भएको थियो। तर आयोजकहरूले ह्याकरबाट नभई त्यस्तो मत चरालाई माया गर्ने रुसी नागरिकबाट आएको बताएका थिए।

 

तस्बिर: सिन्ह्वा

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित