विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० लाख नाघ्यो
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ३२० पटक पढिएको
तथ्यांक ३ गुणा बढी हुनसक्ने डब्लूएचओको अनुमान
कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ५० लाख नाघेको छ । त्यस्तै विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब २५ करोड पुगेको छ । अमेरिकाको जोन्स होप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार मंगलबार बिहानसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५० लाख ५ हजार ६ सय ३८ पुगेको हो ।
कोरोनाबाट सबैभन्दा बढी अमेरिकामा ७ लाख ४७ हजारभन्दा बढीको मृत्यु भएको छ । त्यस पछि ब्राजिलमा ६ लाखभन्दा बढीको मृत्यु भएको छ। तर ब्राजिली सरकारलाई कोरोना संक्रमणबारे तथ्यांक तोडमोड गरेको स्वास्थ्य विज्ञहरूको आरोप छ ।
कोरोना भाइरसविरुद्धको खोप अभियानमा तीव्रता आएसँगै मृत्युदर घटे पनि विज्ञहरूले मृत्यु हुनेहरूको संख्या अझ धेरै भएको हुनसक्ने अनुमान गरेका छन् । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले समेत सार्वजनिक संख्याभन्दा ३ गुणा बढीको मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ । कोरोना भाइरस मुटुसम्बन्धी रोग र स्ट्रोकपछि मृत्युको तेस्रो ठूलो कारकका रूपमा देखिएको छ ।
खोपका कारण मर्नेको संख्यामा कमी आएपनि महामारी समाप्त भइ नसकेको कारण डर समाप्त नभएको विश्व स्वास्थ संगठनले जनाएको छ । अहिले रुस, युक्रेन र पूर्वी युरोपमा संक्रमण बढिरहेको समाचार संस्था एपीले जनाएको छ । रुसमा महामारी सुरु भएयता अहिले संक्रमणको रफ्तार सबैभन्दा उच्च देखिएको छ ।