प्रदेश १ : मुख्यमन्त्री आचार्यले दिए राजिनामा, प्रदेश प्रमुखले गरे नयाँ सरकार गठनका लागि आह्वान

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ३६१ पटक पढिएको

 

अल्पमतमा परेपछि प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभाको बैठकबाट राजीनामा दिएका घोषणा गरेका छन् । विश्वासको मतको प्रस्तावमा सोमबार निर्णय गर्ने कार्यसूची भए पनि मुख्यमन्त्री आचार्यले त्यो प्रक्रियामा प्रवेश गर्नुअघिनै प्रदेशसभा बैठकमा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन् ।

सम्बोधनका क्रममा उनले दलहरू मिलेर जानुको विकल्प नरहेको बताएका थिए । उनले राजनीतिमा कामले अगाडि जानुपर्ने र दलहरू फुटाउनुतर्फ लाग्ने काम अराजनीतक हुने पनि बताएका थिए ।   

प्रदेशसभामा ९२ सदस्यीय सहित एकल बहुमत रहेको एमालेका ५१ सदस्यमध्ये १० जना प्रदेश सांसद एकीकृत समाजवादीमा गएपछि एमाले ४१ जनामा खुम्चिएको थियो । त्यसपछि आचार्य अल्पमतमा परेका थिए ।

यसअघि वागमती प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पनि अल्पमतमा परेपछि राजीनामा दिएकी थिइन् । 

यसै बीच प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री आचार्यको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । उनले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मंगलबार दिउँसो १ बजेभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका छन् । मुख्यमन्त्रीको आह्वानपछि दलहरूले नयाँ सरकारका लागि दाबी पेस गर्ने तयारी गरेका छन् । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित