कोप-२६ आज देखि सुरु : नेपालले पर्वतीय मुद्दा उठान गर्ने
- वर्ल्ड दैनिक
- २ साल अघि
- ३०३ पटक पढिएको
बेलयातको ग्लास्गोमा आजदेखि जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप-२६) सुरु भएको छ । नोभेम्बर १२ सम्म चल्ने सम्मेलनमा विश्वका राष्ट्रप्रमुख, सरकार प्रमुख, सरकारी प्रतिनिधिहरू र नागरिक समाज, व्यवसायिक क्षेत्र र सञ्चार माध्यमका प्रतिनिधिहरूसहित हजारौँ मानिसहरू भेला हुँदैछन् । सम्मेलनमा जलवायु सम्बन्धी विभिन्न विषयमा छलफल हुने बताइएको छ ।
विश्व नेताहरूको शीर्ष सम्मेलन भने सोमबार र मंगलबार हुने जनाएको छ । विश्व नेताहरूले पृथ्वीलाई भविष्यमा पनि जीवनयोग्य बनाउन के कस्ता कदमहरू उठाउने छन् भन्ने आम चासोको विषय बनेको छ । सम्मेलनमा भाग लिन नेपालका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत पुगिसकेका छन् ।
सम्मेलनमा नेपालले यस वर्ष पर्वतीय मुद्दा र यसमा परेको असरले जनजीविकामा पारेको क्षतिलाई सम्बोधन हुनु पर्ने माग राख्ने वन तथा वातावरण मन्त्रालयले जनाएको छ। सम्मेलनमा सुदृड र दिगो वित्तीय व्यवस्थापनको सुनिश्चित गर्नुपर्नेमा ध्यानआर्किष्ट गर्ने प्रयास गर्ने जनाएको छ । सन् १९९४ देखि नेपालले समेत जलवायु परिर्वतन सम्बन्धीको मुद्दालाई नीतिगत रुपमै उठान गर्दै आएको छ ।
हाल नेपालमा तापक्रमको औसत वार्षिक बृद्धिदर ०.०५६ प्रतिशत रहेको र अझै बृद्धि हुँदै जाने मन्त्रालयले जनाएको छ । सन् २०१० सम्मको अवधिमा हिमालमा हिउँको भण्डार २९ प्रतिशतले घटेको र ११ प्रतिशतले हिमताल थप भएको मन्त्रालयले जनाएको छ । यसले १० देखि ३० प्रतिशतसम्म कृषि उत्पादनमा ह्रास आएको र प्राकृतिक विपत्ति हुने गरेको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको हो ।
यता विहीबार बसेको मन्त्रीपरिषद्को बैठकले पनि नेपालको राष्ट्रिय अनुकुल धारणा सन् २०२१–२०५०, हानीनोक्सानी सम्बन्धी राष्ट्रिय कार्यढाँचा र खुद शुन्य उत्सर्जनमा नेपालको दीर्घकालीन रणनीति गरी तीन वटा नीतिगत दस्तावेज र कार्ययोजना स्वीकृत गरेको छ।