काबुलबाटबाट थप ३२ जना नेपाली आए संगै सबैको उद्दार भएको परराष्ट्रको दाबी
- वर्ल्ड दैनिक
- २ साल अघि
- २०२ पटक पढिएको
अफगानिस्तानको विद्रोही समूह तालिवान पुनः सत्तामा पुगेको साढे २ महिना पछि राजधानी काबुलबाट ३२ जना नेपाली काठमाण्डू आइपुगेका छन् । त्यहाँबाट तीनजना फ्लाई दुबईको उडानबाट र २९ जना नेपाल एयरलाइन्सको नियमित उडानबाट आज बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।
रोजगारीका लागि पुगेका तर बेरोजगार अवस्थामा रहेका ३४ जनामध्ये दुईजना भने कात्तिक ४ गते फर्केका थिए ।
कात्तिक ३ गतेनै उद्धार हुने भनिए पनि उनीहरु काबुल विमानस्थलबाट फर्केका थिए । उनीहरुको उद्धारमा लाग्ने सबै खर्च नेपाल सरकारले भुक्तान गर्ने निर्णय गरेको छ । करिब १३ सय अमेरिकी डलर हवाई भाडा र प्रतिव्यक्ति ६५ अमेरिकी डलरका दरले ओभर स्टे शुल्क र पिसिआर परीक्षणको थप शुल्क नेपाल सरकारले व्यहोर्ने बताइएको छ ।
योसँगै अफगानिस्तानमा अब उद्धारका लागि अन्य नेपाली नागरिकहरु नरहेको परराष्ट्र मन्त्रालयले दाबी गरेको छ । विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सहसचिव घिमिरेले भने, ‘आज ३२ जना नेपाली आउनु भएको छ । यसपछि अब चाँही उद्धारको पर्खाइमा रहेका नेपालीहरुको संख्या समाप्त भएको छ । त्यहाँ कोही नेपाली रहेको भए त्यो यूएन सिस्टममा रहनु भएको छ । नेपाल एयरलाइन्सको दुबई फ्लाइटबाट २९ जना नेपालीहरु आएको र यसअघि आजै बिहान अन्य ३ जना गरी ३२ जना नेपालीहरुको उद्धार गरी स्वदेश फिर्ता गरिएको हो ।’
तालिबानले शासन लिएसँगै काबुलबाट विदेशी नागरिकको उद्धार हुने क्रममा उनीहरू विमानस्थल पुगे पनि उद्धार हुन सकेको थिएन । मन्त्रालयका अनुसार तालिवानले अफगानिस्तानमा कब्जा गरेपछि त्यहाँ उद्धारको पर्खाइमा रहेका ९ सय ६ जना नेपाली नागरिकको यसअघि नै उद्धार गरिसकेको छ ।