कोभिडको उत्पतिको पहिचान कहिल्यै नहुन पनि सक्ने अमेरिकी गुप्तचर निकायको निष्कर्ष

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ५६४ पटक पढिएको

 

अमेरिकी गुप्तचर निकायहरूले कोरोनाभाइरस जैविक हतियार भने नभएको निष्कर्ष निकाल्दै यसको उत्पत्तिको पहिचान कहिल्यै नहुन पनि सक्ने बताएका छन् ।

अफिस अफ द यूएस डाइरेक्टर अफ नेशनल इन्टिलिजेन्स ओडिएनआईले अद्यावधिक गरेको विवरणमा जनावरबाट मानिसमा फैलिएको र प्रयोगशालाबाट मानिसमा सरेको दुवै परिकल्पना वास्तविक हुनसक्ने बताएका छन् । तर ठ्याक्कै भन्नका लागि यथेष्ट प्रमाणहरू नभएको पनि उल्लेख गरेको छ । गएको अगस्टमा अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले गरेको ९०-दिने समीक्षालाई अद्यावधिक गरेर सार्वजनिक गरेको विवरणमा यी निष्कर्ष रहेका बिबिसीले जनाएको छ ।

चार गुप्तचर निकाय मध्ये एउटा निकायले मानव सङ्क्रमण प्रयोगशालामा भएको दुर्घटनाबाट उत्पत्ति भएको हुन सक्ने बताएका छन् । जुन दुर्घटना वुहान इन्स्टिच्युट अफ भाइरोलोजीमा गरिएको परीक्षण वा जनावरको परीक्षणको बेला घटेको हुनसक्ने अनुमान गरेको छ। 

बिबिसीका अनुसार प्रतिवेदनमा सन् २०१९ को अन्त्यतिर वुहानमा भएको कोभिड-१९ को सङ्क्रमणअगाडि चिनियाँ अधिकारीहरूलाई यसबारे जानकारी नभएको बताइएको छ । प्रतिवेदनमा चीनले सूचना दिन र अन्तर्राष्ट्रिय अनुसन्धानमा सहयोग नपुर्‍याएको पनि लेखिएको छ ।

चिनियाँ अधिकारीहरूले कोभिडको सङ्क्रमणलाई वुहानको समुद्री खाद्य बजारसँग जोड्ने गरेका छन् जसका कारण वैज्ञानिकहरू कोरोनाभाइरस जनावरबाट मानिसमा सरेको हुन सक्ने बताउँछन् । तर यो वर्षको सुरुमा अमेरिकी सञ्चारमाध्यमहरूले वुहानको प्रयोगशालाबाट दुर्घटनावश भाइरस फैलिएको हुन सक्ने विवरण प्रकाशित गरेका थिए। तर चीनले भने सो प्रतिवेदनको आलोचना गर्दै यो कुरा अस्वीकार गर्ने गरेको छ ।

गत मे महिनामा बाइडनले गुप्तचर अधिकारीहरूलाई भाइरसको उत्पत्तिको अनुसन्धान गर्न आदेश दिएका थिए ।विश्वभर २४ करोड मानिसहरू कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने ४९ लाखभन्दा बढीको मृत्यु भइसकेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित