जहाँ गाईबस्तु हिँडेझैँ हरेक साँझ दैनिक ४०० हात्ती बस्ती छिर्छन् !
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २३६ पटक पढिएको
नेपालीभाषीको बाहुल्य रहेको भारत र भुटानको सीमा क्षेत्र ‘डुबर्स’ मा मानव–हात्ती द्वन्द्व सबैभन्दा ठूलो समस्या बनेको छ । त्यहाँको अलिपुरद्वार जिल्लामा सडकमा गाईबस्तु हिँडेझैँ हरेक साँझ आहार खोज्दै जङ्गली हात्तीको लर्को बस्ती र बाली क्षेत्रमा पस्ने गरेको राससले जनाएको छ ।
राससका अनुसार भुटानको प्रवेशबिन्दु फुन्चोलिङसँग जोडिएको अलिपुरद्वारको मदारीहाट ब्लकमा दैनिक ४०० को हाराहारीमा आउने हात्तीले क्षति पुर्याउने गरेको छ । जिल्लाको बानरहाट, मेघनाथ, साहनाथ, वीरपाडा, कालचिनीलगायतका क्षेत्रमा नेपाली भाषीको ठूलो बसोबास रहेको छ । त्यस क्षेत्रमा एक लाखभन्दा बढी नेपाली भाषी बसोबास गर्छन् ।
सो क्षेत्रमा आसामबाट जङ्गली हात्ती आउने गरेको र किसानले बढी दुःखकष्ट व्यहोर्नु परेको छ । राससको अनुसार त्यहाँ हात्तीबाट मृत्यु भएका परिवारलाई भारत सरकारले प्रति व्यक्ति भारु चार लाख नगद र परिवारका एक सदस्यलाई राष्ट्रिय निकुञ्जभित्रै सुरक्षागार्डको रोजगारीको व्यवस्था गर्दै आएको छ ।
नेपाल र भुटानमा जङ्गली हात्तीले पुर्याउँदै आएको क्षति विषयमा अलिपुरद्वारको जल्दापाडा निकुञ्जमा दुई दिनअघि एशोसिएशन फर कन्जरभेसन एन्ड टुरिज्मको अन्तरदेशीय बैठकमा मानव–हात्ती द्वन्द्वको अवस्थाबारे अवगत गराएको थियो।
आसामबाट आउने जङ्गली हात्ती डुबर्सको मदारीहाट हुँदै टिस्टा र त्यहाँबाट सिधै नेपाल आउने गरेको एशोसिएशन फर कन्जरभेसन एन्ड टुरिज्मका अध्यक्ष राज वसुले बताएको राससले उल्लेख गरेको छ । भुटानको दक्षिणी क्षेत्र, भारतको डुबर्स र नेपालको कोशीटप्पुसम्मको लामो भूभाग हात्तीको परम्परागत विचरण क्षेत्र भएको उनले बताएको छ । द्वन्द्वलाई पर्यटनमा रुपान्तरण गर्दा स्थानीय हात्तीपीडित बासिन्दाको आर्थिक उपार्जन दिगो हुने र वन्यजन्तुको समेत संरक्षण हुने उनको धारणा छ ।
भारतबाटै आउने जङ्गली हात्तीले प्रदेश नम्बर १ को झापामा वर्षौंदेखि ठूलो सास्ती दिँदै आएको छ । यो समस्याको न्यूनीकरणमा सरकार र सरोकारवाला निकायले धेरै पहल गरे पनि दिगो समाधान हुन सकेको छैन ।