११९ वर्षीय बाटुली : ‘गिनिज बुक’ मा विश्वकै सर्वज्येष्ठ नागरिकमा दर्ज गराउने तयारी

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ४४० पटक पढिएको

 

नुवाकोटको ककनी गाउँपालिका–८ थानसिंहका ११९ वर्षीय बाटुली लामिछाने सम्भवतः विश्वकै सर्वज्येष्ठ नागरिकको रुपमा परिचित हुदै छिन् । उनको नाम ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा दर्ज गराउने अन्तिम तयारी भएको हो ।   

लामिछाने विश्वकै ज्येष्ठ नागरिक भएको उनको स्वास्थ्य परीक्षणबाट पनि पुष्टि भइसकेको राससले जनाएको छ । हालसम्म विश्वमा ११८ वर्षीय जापानी नागरिक काने तानाकाको नाममा उक्त रेकर्ड छ । तानाकाभन्दा जेठी लामिछानेलाई नेपालले अभिलेखीकरणको प्रक्रियामा ढिलाइ गरेकाले उक्त विश्व पहिचान प्राप्तिमा ढिलाइ भएको राससले उल्लेख गरेको छ । 

परिवारमा पाँच पुस्ताको फैलावट भइसके पनि उनि स्वस्थ्य देखिन्छिन् । लामिछानेका छिमेकी केदार भण्डारी भन्छन्, “उहाँ बलियो हुनुहुन्छ, अझै केही वर्ष केही हुँदैन, तर राज्यले उहाँलाई विश्वकै ज्येष्ठको पहिचान दिलाउन भने ढिलाइ गर्नु हुँदैन ।”

त्यस्तै लामिछानेको बुहारी ईश्वरी लामिछानेका अनुसार सासुआमालाई हालसम्म कुनै गम्भीर रोग नभएकाले उपचारका लागि अस्पताल लैजान परेको छैन । पछिल्लो समयमा कहिलेकाहीँ ज्वरो आउने भएकाले औषधि भने खुवाउने गरिएको छ । 

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित गिरानचौरमा विसं १९५९ चैत १० गते आमा देवीकुमारी तिवारी र जयनारायण तिवारीको कोखबाट जन्मिएकी उनलाई विक्रम संवत २०७० वैशाख २४ गते जिल्ला प्रशासन कार्यालयबाट खटिएको टोलीले घरमै आएर नागरिकता दिएको थियो ।

राष्ट्रिय ज्येष्ठ नागरिक कोषका तत्कालीन अध्यक्ष रामकृष्ण कर्माचार्यसहितको टोलीले दुई वर्षअघि लामिछाने ११७औँ वर्षमा प्रवेश गरेका अवसरमा उनको निवासमा पुगेर शुभकामनासहित अभिनन्दन गरेको थियो । त्यसयता गिनिज बुकमा नाम लेखाउन पहल गर्दै आएका कर्मचारीहरुले उक्त प्रक्रिया अब अन्तिम चरणमा पुगेको जनाएको छ  ।

ज्येष्ठ नागरिक क्षेत्रका अर्का अभियानकर्मी मोहन केसीले नेपालमा जेनेटोलोजीबारे शिक्षण संस्था र अस्पताल हुनुपर्ने माग गरेका छन् । स्थानीय राजनीतिकर्मी काशीनाथ अधिकारीले गिनिज बुकमा नाम लेखाउन सङ्घीय सरकारबाट पहल हुनुपर्ने र कम्तीमा नेपालभरिको ज्येष्ठ नागरिक भनेर प्रमाणपत्र दिन ढिलाइ गर्न नहुने बताएको छ ।

नेपालमा सय वर्षमाथिका करिब चार हजार नागरिक छन् । 

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित