लाइसेन्सको अनलाइन आवेदन प्रणाली बन्द
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २६६ पटक पढिएको
खुलेको तीन दिनमै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली बन्द भएको छ। आवेदन प्रणालीमा प्राविधिक समस्या आएको भन्दै मर्मतका लागि बन्द गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
समस्या समाधान हुने बित्तिकै आवेदन खुलाउने विभागले जनाएको छ । लाइसेन्स आवेदनका लागि करिब ९ लाखले फारम भर्ने प्रयास गरेको बताइएको छ । यातायात व्यवस्था विभागले सबै प्रकारका सवारीको लाइसेन्सका लागि सोमबार रातिबाट आवेदन प्रणाली खुलाएको थियो ।
दसैंअघि नै ट्रायल सञ्चालनमा आए पनि अनलाइन आवेदन भने खुलाइएको थिएन । विभागका अनुसार अहिले लाइसेन्सको फारम भरे पनि काठमाडौं उपत्यकाका हकमा लिखित तथा ट्रायलको पालो आउन ६ महिना लाग्ने छ । उपत्यकाबाहिरका हकमा भने एक महिनामै पालो आउने विभागको भनाइ छ ।
अब फारम भर्नेहरुले विभागको नयाँ मापदण्डअनुसार लिखित र ट्रायल दिन पाउने छन् । नयाँ मापदण्डअनुसार लिखितमा ६० प्रतिशत र ट्रायलका विभिन्न चरणमा ७० अंक ल्याएमा पास भइनेछ । पास हुनेहरु सबैले स्मार्ट लाइसेन्स पाउने छन् ।
पहिले आवेदन दिएका धेरै जना अहिले पनि परीक्षा कुरिरहेकाले उनीहरुलाई प्राथमिकता दिने विभागको योजना थियो ।