क्रिकेटमा पाकिस्तानलाई समर्थन गर्नेलाई भारतमा आतङ्कवादको अभियोग लगाइयो

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ७९१ पटक पढिएको

 

भारतको उत्तर प्रदेशमा ३ जना कश्मीरी विद्यार्थी पक्राउपरेका छन् । टी–२० विश्वकप क्रिकेट खेलमा पाकिस्तानले भारतमाथि जित हासिल गरेकोमा खुशी मनाइरहेको भन्दै उनीहरुलाई पक्राउ गरेको बिबिसीले जनाएको छ । 

सत्तारूढ भारतीय जनता पार्टीका सदस्यहरूले उजुरी हालेपछि तीन जनालाई प्रहरीले बुधवार पक्राउ गरेको हो । ह्वाट्सएपमा पाकिस्तानी क्रिकेट खेलाडीको प्रशंसा गर्दै लेखेको भन्दै पक्राउ परेका ती विद्यार्थीलाई उनीहरू पढ्ने कलेजले सोमवार निलम्बन पनि गरेको छ । 

आगरा सहरमा भएको उक्त घटनालाई मुस्लिम समुदायविरुद्धको दमनका रूपमा लिइएको छ। प्रहरीका अनुसार आइतवार खेल भइरहँदा उनीहरूले पाकिस्तानको समर्थनमा नाराबाजी पनि गरेका थिए । उनीहरूविरुद्ध "शत्रुतालाई प्रोत्साहन गरेको तथा साइबर आतङ्कवाद" को अभियोग लगाइएको छ ।

फाइनल खेल सम्पन्न भएपछि भारतीय क्रिकेट टोलीमा अहिले समाविष्ट एक मात्र मुस्लिम खेलाडी मोहम्मद शामीको धेरै जनाले सामाजिक सञ्जालमा मानमर्दन गरेका थिए । मानिसहरूले शामीले जानीजानी पाकिस्तानलाई रन बनाउन दिएको आरोप लगाउँदै उनलाई "देशद्रोही" को समेत सङ्ज्ञा दिएका छन् । आलोचकहरूका अनुसार भारतले खेल हार्दा धेरै भारतीय नागरिकले खेलभावना बिर्सिने गरेका छन् र उनीहरू अरूमा दोष खोज्छन् ।

भारत र पाकिस्तानबीच क्रिकेट खेलकै कारण पनि बेलाबेलामा तनाव बढिरहन्छ । टी२० विश्वकप क्रिकेटमा पाकिस्तानसँग भारत १० विकेटले पराजित भएको थियो ।

पाकिस्तानी टोलीलाई समर्थन गरेकाले केही अरू मुस्लिमहरूले पनि आइतवारदेखि समस्या खेप्नुपरेको बिबिसीले उल्लेख गरेको छ । कश्मीरमा दशकौँदेखि सशस्त्र विद्रोह चलिरहेको छ । भारत र पाकिस्तान दुवैले कश्मीर आफ्नो भूमि भएको दाबी गर्दै आएका छन् । तर दुवैको अधीनमा केही भाग मात्र छ । आणविक अस्त्रसम्पन्न ती देशले कश्मीरकै निहुँमा दुई पटक युद्ध पनि गरिसकेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित