ताइवानलाई संयुक्त राष्ट्र संघमा सामेल हुने कुनै अधिकार नभएको चीनको प्रतिक्रिया
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ३६२ पटक पढिएको
चीनले पुनः ताइवानलाई संयुक्त राष्ट्र संघमा सामेल हुने "कुनै अधिकार" नभएको बताएको छ । बुधवार एक कार्यक्रमका बीच बेइजिङमा ताइवान मामिला कार्यालयका प्रवक्ता सियाओगुआङले ताइवानलाई राष्ट्र संघमा सामेल हुने अधिकार नभएको बताएका हुन् । ताइवान चीनकै एक भाग भएको सियाओगुआङको भनाइ छ ।
पछिल्ला दिनहरूमा ताइवानका अधिकारीहरूले संयुक्त राष्ट्रमा भूमिका खेल्ने चाहना व्यक्त गरेका थिए ।
५० वर्षअघि ताइवान संयुक्त राष्ट्र संघको महासभामा भएको मतदानबाट बाहिरिएको थियो । त्यसको ठाउँमा जनगणतन्त्र चीन(पीआरसी) लाई राष्ट्र संघमा प्रतिस्थापन गरिएको थियो । त्यसपछि ताइवानले संयुक्त राष्ट्र संघमा फर्कन पटक–पटक प्रयास गरे पनि सफल भएको छैन ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले मंगलबार चीनको बढ्दो प्रभाव रोक्नका लागि ताइवानलाई राष्ट्र संघजस्ता ठूला अन्तर्राष्ट्रिय संगठनमा सशक्त सहभागी गराइनुपर्ने बताएका थिए । तर वासिंटनस्थित चिनियाँ दूतावासले वक्तव्य जारी गर्दै अमेरिकी विदेशमन्त्री ब्लिंकेनको भनाइको कडा आलोचनासमेत गरेको छ ।
दूतावासले विदेशमन्त्री ब्लिंकेनको भनाइ ‘एक चीन’ नीतिविरुद्ध भएको पनि जनाएको छ । ‘अमेरिकासहित करिब १८० देशले चीनसँग एक चीन नीतिकै आधारमा कूटनीतिक सम्बन्ध स्थापना गरेका हुन्,’ वक्तव्यमा भनिएको छ ।