नेपालकै पहिलो महिला मुख्यमन्त्रीले दिईन् राजीनामा
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १३८ पटक पढिएको
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफ्नो पदबाट राजीनामा दिएकी छिन् । शाक्यले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा दिएकी हुन् । बुधबार प्रदेशसभा बैठकमा सम्बोधन गरे पछि प्रदेशप्रमुख यादव शर्माको कार्यालय पुगेर उनले राजीनामा पनि बुझाइसकेकी छिन् ।
राजिनामा घोषणा गर्ने बेला प्रदेशसभामा सम्बोधन गर्दै उनले प्रदेशको समृद्धिका लागि प्रतिपक्षीको भूमिकामा रहेर पनि रचनात्मक काम गर्ने प्रतिबद्धता जनाएकी छिन् ।
बागमती प्रदेश सभाका १३ संसद्हरु समाजवादी पार्टीमा लागेपछि शाक्य अल्पमतमा परेकी थिइन् । शाक्यले गत असोज २४ गतेको प्रदेशसभाको बैठकमा नेपालको संविधानको धारा–१८८ को उपधारा १ बमोजिमको प्रावधानअनुसार विश्वासको मत लिने कार्यका लागि प्रस्ताव गरेकी थिइन् । तर, विपक्षी गठबन्धनले मुख्यमन्त्रीको टुंगो नलगाउँदा दलहरुबीचको सहमतिमा प्रदेशसभाको बैठक सारिएको थियो ।
उनि गत भदौ २ गते एकल बहुमतले नेपालकै पहिलो महिला मुख्यमन्त्री नियुक्त भएकी थिइन् । त्यतिबेला कायम भएका १०९ सांसद मध्ये नेकपा एमालेमा ५६ सांसद थिए । हाल ४३ सांसद मात्र छन् ।
शाक्य अल्पमतमा परेसँगै बागमतीमा विपक्षी गठबन्धनले नयाँ सरकार निर्माणको कसरत सुरु गरेको थियो । उनको राजिनामा पछि बागमती प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनले अर्को सरकार गठनको तयारी गरेका छन् । उनीहरुले एकीकृत समाजवादीको संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने निर्णयसमेत गरेका छन् ।