ड्राइभिङ लाइसेन्सको आवेदन खुल्यो
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ३२३ पटक पढिएको
गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरेको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन खुलेको छ । यातायात व्यवस्था विभागले सबै प्रकारका सवारीको लाइसेन्सका लागिआवेदन प्रणाली सोमबार रातिबाट खुलाएको हो ।
अब नियमित रुपमा फारम भर्न सकिने विभागले जनाएको छ । नयाँ फारम भर्नेहरुले विभागको नयाँ मापदण्डअनुसार लिखित र ट्रायल दिन पाउने छन् । नयाँ मापदण्डअनुसार लिखितमा ६० प्रतिशत र ट्रायलका विभिन्न चरणमा ७० अंक ल्याएमा पास भइनेछ । पास हुनेहरु सबैले स्मार्ट लाइसेन्स पाउने छन् ।
कोरोनाको कारण देखाएर ६ महिना देखि आवेदन रोकेका कारण नयाँ आवेदकहरु समस्यामा थिए । विभागले आफ्नो क्षमताअनुसार कोटा तोकेर आवेदन खुलाएको जनाएको छ । नयाँ आवेदन वेबसाइटमा गएर पहिलाको जसरी नै भर्न सकिन्छ भने आवेदकको पालो भने फारम भरेको चारपाँच महिनापछि मात्रै आउने विभागले जनाएको छ ।
पहिले आवेदन दिएका धेरै जना अहिले पनि परीक्षा कुरिरहेकाले उनीहरुलाई प्राथमिकता दिने विभागको योजना छ । यतिबेला पुरानै ट्रायल दिन बाँकी आवदेकको ट्रायल परीक्षा भइरहेको छ। फारम भरेर बसेका नयाँ लाइसेन्स लिनेको संख्या अझै साढे ३ लाख बढी रहेको विभागले जनाएको छ ।