‘सैन्य कु’ पछिको सुडान : ७ जनाको मृत्यु
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २५१ पटक पढिएको
सुडानको सेनाले सत्ता कब्जा गरेपछि नागरिकहरुले गरेको प्रदर्शनमा सात जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन् । प्रदर्शनमा झडप हुँदा गोली लागेर कम्तीमा सात जनाको मृत्यु भएको बताईएको छ ।
सेनाले प्रधानमन्त्री अब्दल्ला हाम्डोक र अन्य वरिष्ठ नेताहरूलाई सोमबार बिहान नजरबन्द गरेपछि राजधानी खार्तुम र ओमदुरमानका सडकमा हजारौं नागरिकहरूले विरोध प्रदर्शन गरिरहेका छन् ।
त्यहाँका शक्ति बाँडफाँड गर्ने गभर्निङ काउन्सिलका प्रमुख जनरल अब्देल फताह अल-बुरहानले शभर सुरक्षा सुनिश्चित गर्न सशस्त्र बल आवश्यक रहेको बताउँदै आपतकालीन अवस्थाको घोषणा गरेका छन् । देश अहिले जुन अवस्थाबाट गुज्रिरहेको छ त्यसले युवाको सपना र राष्ट्रका आशाका लागि एकदमै डरलाग्दो खतरा उत्पन्न गराउने उनको भनाई छ ।
त्यस घटनामा संयुक्त राज्य अमेरिका, बेलायत र नर्वेका सरकारहरूले सोमबार राति एक विज्ञप्ति जारी गर्दै स्थितिप्रति गहिरो चिन्ता व्यक्त गरेको अल्जजिराले जनाएको छ । विज्ञप्तिमा प्रजातान्त्रिक संस्थाहरू निलम्बन गरेकोमा निन्दा र पक्राउ परेकाहरूलाई रिहा गर्न आह्वान गरेका जनाईएका छन् ।
सुडानमा सोमबार सेनाले प्रधानमन्त्री हमडोक सहित उद्योग मन्त्री इब्राहिम अल-शेख, सूचना मन्त्री हमजा बलौल, प्रधानमन्त्रीका मिडिया सल्लाहकार फैसल मोहम्मद सालेह र सुडानको राजधानी खार्तुमका गभर्नर अयमान खालिद सामेल लगायतका जनप्रतिनिधिहरुलाई नजरबन्द गरेका थिए ।
सुडानमा गत महिना असफल विद्रोहको षड्यन्त्रले गर्दा नेता ओमार अल-बशीरको पतन पछि शक्ति बाँडफाँड गर्ने सेना र नागरिक समूहहरू बीच कडा प्रतिशोधहरू भएका थिए । २०१९ मा भएको विभिन्न विरोध प्रदर्शन पछि राष्ट्रपति अल-बशीरलाई पदच्युत समेत गरिएको थियो । राष्ट्रपति बशीरको सत्तानै सुडानमा अन्तरिम सरकार बनेको थियो । त्यतिबेला देखिन नै सेना र नागरिक सरकारका बीचमा खटपट सुरु भएको छ ।
तस्बिर : एएफपी