प्रदर्शनमा रहेको दुई दशक पछि पाब्लो पिकासोको कलाकृति १३ अर्ब मा लिलाम
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २८७ पटक पढिएको

लस भेगसको एक होटलमा दुई दशकभन्दा बढी समयदेखि प्रदर्शनमा रहेका पाब्लो पिकासोको कलाकृतिहरू बिक्रि भएका छन् । एसजीएम रिसोर्ट्सको स्वामित्वमा रहेका ती कलाकृतिहरू लगभग ११ करोड अमेरिकी डलर अर्थात् १३ अर्ब १४ करोड नेपाली रुपैयाँमा बिक्री भएका छन् । क्रेताहरूको नाम भने खुलाइएको छैन ।
लिलामीमा सन् १९७३ मा मृत्यु भएका स्पेनी कलाकार पिकासोका नौ चित्रहरू र दुई माटोका कलाहरू राखिएका थिए । ती कला सङ्ग्रहले पिकासोका कलात्मक उत्पादनको ५० वर्ष समयावधिलाई प्रतिनिधित्व गर्ने बिबिसीले जनाएको छ । बिबिसीका अनुसार रिसोर्ट्सले शनिवार भएको लिलामीले आफ्नो ललित कला सङ्ग्रहमा विविधता थप्न सुधार गर्न मद्दत गर्ने बताएको छ ।
पिकासोकी प्रेमिकाको सन् १९३८ मा कोरिएको चित्र वुमन इन अ रेड अरेन्ज बेरेट सबैभन्दा बढी चार करोड पाँच लाख अमेरिकी डलरमा बिक्री भएको थियो । त्यस्तै अर्को उत्कृष्ट कृति म्यान एन्ड चाइल्ड नामक ठूलो चित्र दुई करोड ४४ लाख डलरमा बेचिएको छ।
बिक्री गरिएका कलाकृतिको सङ्ग्रह २० वर्षभन्दा पहिले क्यासिनोबाट नाम कमाएका स्टीभ व्यानले जम्मा गरेका बताइएको छ। होटलले आफ्नो सङ्ग्रहमा महिला, अल्पसङ्ख्यक र उदीयमान देशहरूका कलाकारको चित्रहरू थप्न आवश्यक रकमका लागि पिकासोका कलाकृति लिलामी गरेको बताएको छ।
पिकासोको सबैभन्दा मूल्यवान् कलाकृति सन् २०१५ मा झन्डै १८ करोड डलरमा बिक्री भएको द वुमन अफ अल्जीयर्स हो। तस्बिर: रोयटर्स