व्यक्तिमा सफलतापूर्वक सुँगुरको मिर्गौला प्रत्यारोपण
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ४२६ पटक पढिएको
अमेरिकामा शल्यचिकित्सकहरूको एउटा समूहले व्यक्तिमा सफलतापूर्वक सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका छन् । उक्त प्रयोगात्मक अभ्यासका क्रममा त्यस्तो मिर्गौला प्रत्यारोपण गरिएका व्यक्ति "ब्रेन-डेड" अर्थात् "मृतमस्तिष्क" भएको अवस्थामा पुगेका बिरामी थिए ।
चिकित्सकीय भाषामा त्यसको अर्थ उनी निको भएर जीवित हुने सम्भावना थिएन । उनलाई चिकित्सा उपकरणको सहायतामा मात्रै जीवित अवस्थामा राखिएको थियो । उनलाई दिइएको मिर्गौला एउटा आनुवंशिक परिवर्तन गरिएको सुँगुरबाट निकालिएको बिबिसीले जनाएको छ । सुँगुरको वंशाणुमा गरिएको त्यस्तो परिवर्तन बिरामीको शरीरले प्रत्यारोपण गरिएको अङ्ग स्वीकार गर्नुका साथै बाहिरी अङ्गको रूपमा त्यसलाई अस्वीकार नगरोस् भन्ने हेतुले गरिएको बताइएको छ ।
न्यूयोर्क विश्वविद्यालयको ल्याङ्गोन मेडिकल सेन्टरमा भएको दुई घण्टा लामो शल्यक्रियामा चिकित्सकले सुँगुरको मिर्गौलालाई मस्तिष्क मृत भएका बिरामीको रक्तनलीसँग जोडिदिएका थिए । बिबिसीका अनुसार उनीहरूले रक्तसञ्चार सञ्चालन भएपछि बिरामीको शरीरले मिर्गौलालाई स्वीकार गरी सहज ढङ्गमा काम गर्छ वा गर्दैन हेर्नका लागि त्यसो गरेका हुन् ।
अनुसन्धानको नेतृत्व गरिरहेका चिकित्सक रोबर्ट मोन्ट्गोमरीले बीबीसीसँग भने, "हामीले मानवमिर्गौला प्रत्यारोपण गरे सरह काम गरिरहेको मिर्गौला देख्यौँ जुन एउटा सामान्य मानवमिर्गौलाले गर्ने सबै कुरासँग मिल्दोजुल्दो देखियो।" उनका अनुसार "सुँगुरको मिर्गौलाले मानव शरीरमा पनि सामान्य रूपमा काम गर्यो । प्रत्यारोपण गरिएको शरीरले त्यसलाई अस्वीकार गरेन ।"
"एउटा मानिसलाई बचाउनका लागि अर्को मर्नुपर्ने परम्परा सधैँ रहिरहनेछैन," उनी भन्छन्,"मलाई थाहा छ यो चिन्ताको विषय हो। अनि यो पनि सत्य हो कि अहिले ४० प्रतिशत बिरामीले अङ्ग प्रत्यारोपण कुर्दाकुर्दै ज्यान गुमाउँछन्।"
उनले आगामी एक दशकमा सुँगुरका अन्य अङ्गहरू मुटु, फोक्सो र कलेजो पनि मानवमा प्रत्यारोपण गर्न सकिने समेत जनाएका छन् । मासु र औषधिका लागि प्रयोग गरिने सुँगुर मिर्गौला प्रत्यारोपणका लागि प्रयोग गरिनुमा कुनै समस्या नभएको उनको भनाई छ । अमेरिकी नियामक संस्था एफडीएले आनुवंशिक रूपमा परिमार्जित सुँगुरका अङ्गहरू यस्ता किसिमका अनुसन्धानका लागि प्रयोग गर्ने अनुमति दिएको छ।
चिकित्सकहरूले अङ्ग प्रत्यारोपणको प्रतीक्षा गरिरहेका गम्भीर बिरामीमा दाताबाट प्राप्त हुने अङ्गको अभावसम्बन्धी समस्या समाधान गर्ने सक्ने बताएका छन् । उक्त चिकित्सकीय परीक्षणका विवरणहरूबारे समकक्षी विज्ञहरूबाट समीक्षात्मक धारणहरू प्रकाशित नभए भए पनि विज्ञहरूले यसलाई एक प्रकारको उन्नत प्रयोग भएको बताएका छन् ।
यसअघि पनि त्यस किसिमका परीक्षणहरू भएका मानवबाहेक अन्य प्रजातिका प्राइमेट अर्थात् नरवानरमा गरिएको थियो । अङ्ग प्रत्यारोपणमा सुँगुरको प्रयोग नौलो भने होइन । सुँगुरको मुटुको भल्भ मानिसको शरीरमा पहिले पनि व्यापक प्रयोग भएको बिबिसीले जनाएको छ । अनि आकारको हिसाबले पनि सुँगुरका भित्री अङ्ग मानिससँग मिल्दोजुल्दो हुन्छ ।